२०८३, १ जेष्ठ शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडीगाडमा हरित हाइड्रोजन ग्यास उत्पादन परियोजना उद्घाटन



बागलुङको बडीगाड गाउँपालिका–२ गिरिङ्दीमा हरित हाइड्रोजन ग्यास उत्पादन तथा खाना पकाउने चुलो विकास नमुना कार्यक्रम उद्घाटन गरिएको छ ।

ग्रिन्टी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग गरी हरित हाइड्रोजन ग्यास उत्पादन गरिएको हो । कार्यक्रममा उक्त ग्यास प्रयोग गरेर खाना पकाएर समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शेरचनले ग्रामीण क्षेत्रमा हाइड्रोजन ग्यास प्रविधिलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले यो परीक्षण परियोजना भएकाले अत्यधिक हर्षित पनि नहुन र निरुत्साहित पनि नहुन नागरिकलाई आग्रह गर्नुभयो ।

बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले यो परियोजना राज्य र नागरिक दुवैका लागि नमुना तथा महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले स्थानीय स्रोत र स्वच्छ ऊर्जाको प्रयोगबाट खाना पकाउने ग्यास उत्पादन गर्नु एसियाकै नमुना परियोजनामध्ये एक भएको दाबी गर्नुभयो ।

कार्यक्रममा भारत, जर्मनी, नेदरल्याण्ड्स लगायत विभिन्न देशका विशिष्ट व्यक्तित्व तथा ऊर्जा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । सहभागीहरूले परियोजनाको अवलोकन गर्दै यसले भविष्यमा स्वच्छ ऊर्जा प्रवर्द्धन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।

परियोजनामा संलग्न प्राविधिक तथा विज्ञहरूले दिनरातको अथक प्रयास, अनुसन्धान र सफल परीक्षणपछि हरित हाइड्रोजन ग्यास उत्पादन गर्न सफल भएको बताएका छन् । उनीहरूका अनुसार यस प्रविधिले भविष्यमा ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३, १ जेष्ठ शुक्रबार ००:००  ४ : ५१ बजे