ईश्वरपुर नगरपालिकाले सर्लाही जिल्लामै पहिलो पटक मिर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याएपछि जिल्लाभित्रका मिर्गौला पीडित बिरामीहरूलाई ठूलो राहत मिलेको छ ।
वर्षौंदेखि नियमित डायलाइसिस गराउँदै आएका बिरामीहरू अब उपचारका लागि जनकपुर, वीरगञ्ज, भरतपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्त हुन थालेका छन् । आफ्नै जिल्लामा सहज रूपमा सेवा उपलब्ध हुन थालेपछि बिरामी तथा परिवारजनमा खुसी छाएको छ ।
नगर प्रमुख मनोज कुमार आचार्यले अनलाइन सरोकारसँग कुरा गर्दै नगर अस्पतालबाट डायलाइसिस सेवा सुरु हुनु सर्लाहीवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले नगरपालिकाले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सेवा विस्तार गरिरहेको उल्लेख गर्नुभयो ।
इश्वरपुर नगर अस्पतालमा सुरु गरिएको यो सेवा जिल्लामै पहिलो भएकाले मिर्गौला रोगीहरूका लागि जीवनदायी बनेको छ । डायलाइसिस सेवा मिर्गौलाले काम गर्न छाडेपछि शरीरमा जम्मा हुने फोहोर पदार्थ बाहिर निकाल्न प्रयोग गरिने उपचार विधि हो । यसले बिरामीलाई थप जटिल स्वास्थ्य जोखिमबाट जोगाउन सहयोग पुर्याउँछ ।
हाल अस्पतालमा दुईवटा डायलाइसिस मेसिनमार्फत सेवा सञ्चालन भइरहेको छ । बिरामीको चाप बढ्दै गएपछि थप मेसिन आवश्यक रहेको भन्दै सरकारसँग थप उपकरण उपलब्ध गराउन पहल भइरहेको जनाइएको छ ।
ईश्वरपुर नगर अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै सर्लाही जिल्लाका सयौँ मिर्गौला पीडित बिरामीले समय, खर्च र दुःख बाट राहत महसुस गर्न थालेका छन् ।











