२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा सडक अनुगमन : गुणस्तर सुधार नगरे कारबाही



ओखलढुंगा । ओखलढुंगा को रमाइलोडाँडा–रुम्जाटार सडक खण्डमा अनुगमन गरिएको छ । बनाइनसक्दै सडक भत्किएको भनेर चौतर्फि आलोचना सुरु भएको उक्त आयोजनाको बुधबार जिल्ला स्थित सरोकारवालाले स्थलगत अनुगमन गरेका हुन् ।

प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारको नेतृत्वमा, प्रदेश १ का अर्थ समिति सभापति मोहन खड्का, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा गुणस्तरहिन काम भएको भन्ने स्थानीयको गुनासो समेत पाएपछि निर्माण व्यवसायीलाई मापदण्ड अनुसार काम लगाउन यदि राम्रो काम नगरे कानुनी कारबाही अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिईएको छ ।

सडक खण्डमा पर्ने पहिरो व्यवस्थापन गर्न, कालोपत्रे गर्न बाकी क्षेत्रमा गुणस्तरीय काम गर्न, डीबीएसटी कालोपत्रे उप्किएको ठाउँमा मर्मत गर्ने लगायतका काम सम्झौता अवधि भित्रै सक्नेगरि काम गर्न आयोजना प्रमुख मार्फत निर्माण व्यवसायीलाई निर्देशन दिईएको सांसद यज्ञराज सुनुवारले बताए । सांसद सहितको टोलीले आयोजना प्रमुख रिता लम्साल र निर्माण व्यवसायीलाई सँगै राखेर गुणस्तरमा सम्झौता नगर्न अन्यथा कानुनी प्रकृयामा जान सुझाएको छ ।

भर्खरै बनाईएको सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे उप्किएर अधिकांश ठाउँमा खाल्डा परेका र आयोजनाका विषयमा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले गुणस्तरीय काम नभएको भन्दै ठेकेदारलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

निर्माण सम्पन्न भएको १ वर्ष सम्म ठेकेदार कम्पनीले मर्मत सहितका काम गर्नुपर्ने नियम भएकाले सोही अनुसार ठेकेदार कम्पनीलाई काम लगाउनुपर्ने अन्यथा कारबाही गर्नुपर्ने राज्यमन्त्री गुरुङको भनाई छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत सञ्चालित उक्त योजना ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ठेक्का लिएको थियो । यो योजनाको ११ दशमलब १ किलोमिटर सडकमा कालोपत्रे बिछ्याउन थालेदेखि नै उप्किन थालेको थियो ।

१८ महिनामै सक्नेगरी २०७४ सालमा थालिएको भएपनि यो योजनामा विभिन्न बहानामा ठेकेदारले ढिलाई गरेको थियो । यो सडकको केही अफ्ठ्यारा भागमा अझैपनि कालोपत्रे गरिएको छैन । कालोपत्रे गरिएको भनिएको सडकका केही भागमा हिलैहिलो जमेको भेटिन्छ । धेरैजसो ठाउँमा सडक खाल्डा परिसकेकाले सवारी चलाउन समस्या हुने सवारी चालक सुवास खड्काले बताए । ‘पानीले पथार्दै भत्किएको देखिन्छ झन हिलो समेत जमेकाले कालोपत्रे गरेको सडकमा पनि गाडी चल्ने अवस्था छैन ।’ खड्काले भने, ‘सदरमुकामकै सडक भखैर खनेको गाउँको भन्दा विजोग अवस्था छ । कालोपत्रे भएपछि सजिलो होला भनेको झन गाह्रो भयो, यस्तो पनि विकास हुँदो रहेछ ।’ यो सडक जिल्लाकै सबैभन्दा पुरानो सडक हो । पूर्वि पहाडको समथर ठाँउ रुम्जाटार र त्यहाँको विमानस्थल जाने मार्ग समेत भएकाले यो सडक बढी सवारीको चाप हुने गरेको छ ।

एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत यो सडक निर्माण भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाले सडकको कालोपत्रे उप्किएपछि २ किलोमिटरभन्दा बढी क्षेत्रमा पुनः कालोपत्रे गर्न ठेकेदारलाई दबाब दिएको कार्यालयका इन्जिनियर सरोज केसीले बताए । कालोपत्रे उप्किएपछि कुल लागतको केही प्रतिशत रकम भुक्तानी नगरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार ००:००  ३ : ५१ बजे