२०८१, १३ बैशाख बिहीबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय गन्तव्य बन्यो थानापति : विवाह नभएका र सन्तान नहुनेलाई लाभ हुने जनविश्वास कायमै



रामेछापको थानापतिमा पर्यटकको चाप बढेको छ । मन्थली नगरपालिका–९ बाहुनचुरामा रहेको थानापति महादेव मन्दिरमा पछिल्लो समय दर्शनार्थी भक्तजनको चहलपहल बढेको हो ।

करिब ३ सय वर्ष पुरानो इतिहास बोकेको थानापति मन्दिरमा अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु मन्दिरको दर्शन गर्न र मनोरञ्जन लिन थानापति पुग्ने गरेका छन् ।

बैह्रा महादेव, स्थानापति, थानादिपती, नर्मदेश्वर लगायतका विभिन्न नामले चिनिने थानापति   राजधानी काठमाडौंबाट सिन्धुलीको खुर्कोट, रामेछापको सदरमुकाम मन्थली हुँदै करिब ५ घण्टा सवारी मार्फत यात्रा गरेपछि पुग्न सकिन्छ ।

एकातर्फबाट सडक मार्ग र अर्को तर्फ बाहुनचुराको फेदिबाट सिंडी चडेर सहज रुपमा मन्दिर पुगिन्छ ।

पुरानो किंवदन्ति र गाईको दुधसँग इतिहास जोडिएको थानापतिमा आउने भक्तजनले मागेको वर पाउने मन्दिरका पुजारी कुशहरि गिरी बताउँछन् । ‘यहाँ आएर मागेको वर सबैले पाएका छन् । शुद्ध मनले चाहेको चिताएको सबै पुरा भएका छन् ।’ उनि भन्छन्,‘एक पटक आएका मानिसहरु फेरि फेरि पनि मैले मागेको वर पाएँ भनेर फर्किएर आउने गरेका छन् । यसले पनि धार्मीक आस्था हुनेहरुका लागि यो आउनुपर्ने ठाँउ हो भन्ने देखाउँछ ।’ थानापति महादेवलाई काठमाडौंको पशुपती र खोटाङको हलेसि जतिकै शक्तिशाली मानिन्छ ।

थानापतिमा हरितालीका तिज, हरिबोधनी एकादशी, महाशिवरात्री, माघे सक्रन्ति, गुरु पूर्णीमा सहितका पर्वमा ठुलो मेला लाग्छ । भक्तजनहरु निराहार व्रतबसी महादेवको उपासना गर्दछन् । हरेकवर्ष थानापति दर्शन जाने गरेका छन् । मनमा शान्ति र परिवारमा समृद्धि मिलेको विश्वास सहित आफु हरेक वर्ष थानापति दर्शनमा जाने गरेको बताउँछिन् चिसापानीकी मञ्जु ढुंगेल । ‘हाम्रा पिता पुर्खा देखिको विश्वास भएको मन्दिर हो । यहाँ आउँदा मनमा शान्ति मिल्छ ।’ पर्वका समयमा थानापतिमा रामेछाप र आसपासका मात्रै होईन बाहिरी जिल्लाबाट जानेहरुको समेत भिड लाग्छ ।

थानापति चारैतिरका पहाडको टाकुरामा पर्छ । स्वच्छ हावापानीमा रमेर यहाँबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । उच्च भागमा रहेको थानापती प्राकृतिक हिसाबले पनि निकै सुन्दर ठाउँ छ ।

थानापतीमा ठुलो स्वरमा चिस्च्याएर वर मागे मागेको फल पाइने जनविश्वास छ ।

थानापतिमा वरमाग्दा विवाह नभएकाहरुले दुलाह, दुलहि पाउने, सन्तान नभएकालाई सन्तान प्राप्ती हुने जस्ता निकै महत्वकांक्षी मनोकामना पुराहुने जनविश्वास छ । त्यसैले त देशका विभिन्न ठाउँबाट वर्षेनी हजारौं श्रद्धालुहरु थानापति आईपुग्छन् । ‘छोरीका लागि राम्रो ज्वाइँ पाइयोस् भन्ने कामना गरेको थिएँ त्यो पुरा भयो । फेरि उसको बच्चा भएन अनि सन्तान माग्न आएको’ दोलखाकी लक्की गोलेले भनिन् ।

प्राकृति, धार्मीक, सांस्कृतिक एवम् ऐतिहासिक मानिने यो ठाउँबाट हिमाल, पहाड र तराईका सयौं गाउँबस्तिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको सुन्दरता र स्थानीय सरकारको सकृयतामा भएको पूर्वाधार विकासले आन्तरिक मात्रै होइन बाह्य पर्यटकको समेत मन लोभिन्छ ।

प्राकृतिक, सांस्कृतीक एवम् धार्मीक पर्यटनको प्रचुर सम्भावना भएरपनि प्रचारप्रसार र पूर्वाधार अभावमा थानापती ओझेलमा थियो ।

स्थानीय सरकार गठन भएपछि जनप्रतिनिधिको सकृयताले ओझेलमा परेको थानापतिले मुहार फेरेको छ । आझेलमा परेको थानापतिको पर्यटन प्रवद्र्धन र प्चारप्रसारलाई पथमिकता दिईएको पर्यटन बुद्धि बहादुर पुलामी मगरको भनाई छ । ‘हामी निर्वाचित भएर आएपछि थानापतिमा आइपुग्ने बाटो अफ्ठ्यारो थियो । त्यहाँ सिंडी बनाएका छौं । अब यो वर्ष रेलिङ हाल्छौं । बिचबिचमा पार्क र धारा राखेर पानीको व्यवस्था गर्न जुटेका छौं ।’ वडाअध्यक्ष मगरले भने, ‘थानापतिमा विद्युत बाल्ने काम गरेका छौं । यहाँको पूर्वाधार विकास अहिले हाम्रो प्राथमिकतामा छ ।’ उनका अनुसार मन्थली नगरपालिका वडा नम्बर ९ बाहुन चुरामा रहेको थानापती प्रमुख गन्तव्य मात्रै होईन यो वडाको मुख्य सम्पत्ति नै हो । यहाँ थुप्रै सम्भावना छन् । अनेकन चुनौतीका बिच नयाँ नयाँ सम्भावनाको खोजि भईरहेको छ ।

यसवर्ष वडाको पहलमा थानापतिमा ड्रोन क्यामेरा र प्याराग्लाइडीङ उडाईएको छ । थानापतिको पर्यटन प्रवद्र्धनकै लागि यसवर्ष मन्थलीको पुरानागाउँमा प्याराग्लाइडिङ परीक्षण उडान सफल पारिएको हो । 

स्थानीय सरकारको पहलमा पहिलो पटक मन्थलीको आकाशमा प्याराग्लाइडीङ उड्दा स्थानीय चकित परेका थिए । अर्को एउटा नयाँ सम्भावनाको खोजि भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । पहिलो पटक गाउँमा ड्रोन क्यामेरा र प्याराग्लाइडीङ उड्दा त्यहाँ पुगेका मानिसहरुले मनोरञ्जन लिएको स्थानीय राम आलेमगरले बताए । उनि भन्छन् ‘जन्मेदेखि अहिले सम्म नदेखेको र नसोचको कुरा आज देख्न पाईयो ।’ यसको गाउँको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

थानापति क्षेत्रको मनोरम दृश्यावलोकन र यहाँको भुगोल प्याराग्लाइडीङका लागि राम्रो सम्भावना रहेको तर प्याराग्लाइडीङका लागि छुट्टै पूर्वाधार विकासमा जोड दिनुपर्ने प्याराग्लाइडीङ पाइलट लक्ष्मण रत्न शाक्यले बताए । ‘रमाइलोका लागि उड्न त होला तर व्यवसायीक रुपमा प्याराग्लाइडीङ चलाउन चाँही टेकअफ देखि ल्यान्डीङ सम्मका सबै आधारभुत पूर्वाधारहरु मापदण्ड अनुसारका बनाउनुपर्छ ।’ प्याराग्लाइडीङ पाइलट गोविन्द गुरुङ थानापति क्षेत्रको मनोरम वातावरणमा सुहाउँदो सम्भावनाको खोजी गरेर प्याराग्लाइडीङ उडाउनु भविष्यका लागि समेत राम्रो हुने बताउँछन् ।

पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधिले अघि सारेका योजनामा स्थानीय पनि उत्साहित भएर लागेका छन् । स्थानीय सरकारको सकृयतामा भएको परिवर्तन प्रति नागरिक खुसी छन् ।

मन्थली नगरपालिका क्षेत्र भित्र दर्जनौं पर्यटकीय गन्तव्य छन् । तर पुरानो किंवदन्ती बोकेको यो धार्मीक स्थल मन्थली नगरभित्रको प्रमुख पर्यटकीय गन्तव्य बनेको मन्थली नगरपालिकाका प्रमुख  रमेशकुमार बस्नेतले बताए । ‘हाम्रो पहिलो पर्यटकीय भनेकै हरेक हिसाबले स्थानापति महादेव मन्दिर नै हो ।’ नगरप्रमुख बस्नेतले भने, ‘हाममी निर्वाचित भएर आउँदा सम्म केही थिएन । अहिले सबै पूर्वाधार सम्पन्न हुने चरणमा छ । बाँकी कामहरु तत्काल अघि बढाएर पर्यटक भित्राउन हामी लाग्छौं ।’ थानापती पुग्न एकातर्फबाट सडक र अर्को तर्फबाट सिंडी सहितका संरचना निर्माण गरिएको छ । सडकको पहुँच पुगेपछि वृद्धवृद्धा र अशक्तलाई पनि थानापती दर्शनमा जान सहज भएको छ ।

विगत देखिनै धार्मीक आस्था, विश्वास र मनोरम वातावरण त थियो नै तर पूवार्धार अभावले त्यहाँ सम्म पुग्न कष्टकर यात्रा गर्नुपथ्र्यो । अहिले वडा कार्यालय र मन्थली नगरपालिकाको संयुक्त पहलले थानापतीमा विद्युत र खानेपानीको सुविधा पुगेको छ । अन्य  भौतिक संरचना निर्माणका काम भईरहेका छन् ।

थानापतीमा धार्मीक पर्यटकीय क्षेत्र प्रर्वद्धनका लागि स्थानीय सरकारले खेलेको भूमिकाको रामेछापका सरोकारवालाहरु प्रशंसा गर्दछन् ।

यो विज्ञान र प्रविधिको युग हो । धार्मीक आस्था र मान्यताका सवालमा नेपाली समाजका पछिल्लो पुस्ता उतिसाहै्र विश्वास गर्दैन । संस्कार र संस्कृति मानेपनि विश्वास कम गर्ने क्रम बढ्दो छ । तर थानापतिको दर्शन र त्यहाँ मागेको फल पाइनेमा धेरैले विश्वास गर्दछन् ।

विशेष गरी थानापति मन्दिरमा गरेर वर माग्दा विवाह नभएकाले दुलाह, दुलहि र सन्तान नभएकालाई सन्तान लाभ हुने जनविश्वास छ । घरमा पालेको गाइभैसि थारैबसेपनि किसानले थानापति भाकल गर्ने चलन रहेको स्थानीय सुनाउँछन् । धार्मिक मान्यता कायमै रहेकाले यो  मन्दिरमा अहिले दैनिक सयौं भक्तजनको भिड लाग्ने गरेको छ ।

थानापतीको काखमा रहेको मन्थली नगरपालिका वडा नम्बर ९ साविकको पुरानागाउँ गाविस हो । पुराना गाउँका जनप्रतिनिधिहरु पर्यटन प्रर्वद्धन सँगसँगै अन्य पूर्वाधार विकास र वडाको समृद्धिमा पनि सकृय छन् । दशकौं नभएका विकास र अधुरा योजना जनप्रतिनिधिको सकृयता पछि पुरा भएका छन् ।

बहुभाषा, बहुजाती र बहु संस्कृति भएको पुराना गाउँका स्थानीयले थानापती घुम्न पुगेका पर्यटकलाई स्थानीय उत्पादनको अर्गानिक स्वाद चखाउँदै जातिय समुदायको पहिचान झल्काउने झाँकी देखाउँछन् ।

यो वडामा थानापतीको अलवा अन्य गुम्बा, गुफा र मठमन्दिरहरु पनि छन् ।  धार्मीकस्थलको दर्शन र मनोरञ्जनका लागि उपर्युक्त गन्तव्य हो रामेछापको पुरानागाउँ ।

थानापति विशेष वृत्तचित्र हेर्नुहोस्

https://www.youtube.com/watch?app=desktop&feature=youtu.be&v=R2SAbliffRQ&fbclid=IwAR13b9gTWEyqlLHqOmbMx0XX_iZnuUT9dkAGYc_FJVxvV-gUDAweuF3CqXk

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार ००:००  ११ : ४८ बजे