ओखलढुंगा । ओखलढुंगाको राजनीतिक बहसमा कहिल्यै नछुट्ने नाम हो ज्ञानेन्द्र रुम्दाली । अरुबेला राजनीतिक गतिविधिको अलवा आफ्नै पेशा व्यवसायमा सकृय उनी चुनावी माहोल सुरु भएसँगै एकाएक चर्चामा आउँछन् । चुनावभर त उनको नाम सबैले लिन्छन् नै मतगणना पछिको चुनावी समिक्षामा पनि उनी उत्तिकै चर्चामा रहन्छन् ।
उनले आम चुनाव जितेर भन्दा पनि हारेर–हराएर बढी चर्चा कमाए । नेपाली कांग्रेसका विभिन्न भूमिकामा रहेर काम गरेका उनलाई २०६४ साल यता कम्युनिष्टका कार्यकर्ताहरुले प्रसंशा गरे, त्यो भन्दा बढी कांग्रेसका कार्यकर्ताहरुले आलोचना गरे । जसरी पनि उनको नामको विज्ञापन भईरह्यो । चर्चामा उनी रहिरहे ।
२०६४ सालमा बालाराज कार्की विरुद्ध बागी उम्मेदवार बनेका रुम्दाली २०७४ मा प्रदीप सुनुवार विरुद्ध बागी बने । ति दुवै चुनावमा कांग्रेसका उम्मेदवार पराजित भए । त्यसयता रुम्दाली कांग्रेस हराउने पात्रका रुपमा जवरजस्त स्थापित भए । उनले विद्यि विरुद्धको लडाइँका रुपमा त्यसलाई प्रष्ट्याउँदै आए ।
२०६४ सालमा रुम्दालीले स्वतन्त्र उठेर २ हजार ८ सय ५३ मत ल्याएका थिए । त्यो बेला कांग्रेसका उम्मेदवार बालाराज कार्कीले ८ हजार ७५ मत पाए । माओवादीका बालकृष्ण ढुंगेलले ११ हजार ६९ मत ल्याएर विजयी भए ।
२०७० को निर्वाचनमा कांग्रेसबाट रामहरि खतिवडाले टिकट पाए । रुम्दालीले बागी दिएनन् । कांग्रेसले जित्यो ।
२०७४ को निर्वाचनमा प्रदीप सुनुवारले कांग्रेसको टिकट पाएपछि रुम्दाली फेरी बागी उम्मेदवार बने । कांग्रेसले हा¥यो ।
उनले १ हजार ८ सय ५८ मत ल्याए । त्यो चुनाव वामगठबन्धनका उम्मेदवार माओवादीका मोहन खड्काले १५ हजार ४ सय ४५ मत ल्याएर जिते । कांग्रेसका सुुनुवार भन्दा १ हजार ७ सय ७४ मत खड्काले बढी पाए । उता कांग्रेसका बागीले ल्याएको १ हजार ८ सय ५८ मत कांग्रेसले आफ्नो मतमा जोडेर हिसाब ग¥यो ।
पार्टीलाई घात गरेको निचोडमा कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी रुम्दालीलाई कारबाही ग¥यो ।
त्यो कारबाही अझैं फुकुवा भईसकेको छैन । जिल्लाले फुकुवाको सिफारीस गरेपनि केन्द्रले त्यसबारे कुनै निर्णय गरेको छैन । पार्टीको कारबाही पूर्णरुपमा फुकुवा भईनसकेकाले उनी अहिले टिकट पाउँदा पनि पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्न पाएनन् ।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेर खानेपानीको धारा चिन्ह लिएर चुनावी मैदानमा छन् ।
कांग्रेसको चारतारे झण्डा बोकेका रुम्दाली हातमा पानीको धाराको अर्को पर्चा बोकेर हिँडेका छन् । कांग्रेसका कार्यकर्ताहरु एक चरण रुखमा भोट हाल्न अपिल गरिसकेपछि खानेपानीको धाराको स–प्रसंग व्याख्या गरेर रुम्दालीलाई भोट माग्ने कसरत गरिरहेका छन् ।
मानेभञ्ज्याङमा कांग्रेसलाई विगतमा जस्तो रुखमा भोट मागेर माहोल बनाउन सजिलो छैन । धाराको व्याख्या गरेर चुनाव चिन्हबारे बुझाएपछि रुम्दालीले धारा बोक्नुपर्ने कारण प्रष्ट्याउन चर्को छ । त्यसमाथि उपाध्यक्षसहितका अरु पदमा रुखलाई भोट दिन अपिल गरिसकेपछि फेरि अध्यक्ष पदमा चाँही रुखमा भोट नदिन विनम्र अनुरोध गर्नुपर्ने परिस्थित छ ।
२०६४ र २०७४ मा प्रदेश ‘क’ स्थायी ठेगाना भएका नेताहरु अर्को क्षेत्रमा उम्मेदवार हुनु कांग्रेसको विद्यि विपरित भएको भनेर लामो समय संघर्ष गरेका रुम्दालीले स्वतन्त्र उम्मेदवारलाई सिंगो पार्टीले समर्थन गर्न बाध्य पारे ।
मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका उनी धरानको महेन्द्र मोरङ क्याम्पसबाट नेविसंघ हुँदै राजनीतिमा प्रवेश गरेका थिए । उनी कांग्रेसको तरुण दलको जिल्ला अध्यक्ष समेत भए । २०६४ मा विद्रोह गरेकै कारण नेविसंघको जिल्ला अध्यक्ष पद खोसिएको थियो ।
२०६७ मा पुनः क्रियाशील सदस्यता पाएका रुम्दाली तरुणदलको अध्यक्ष बनेका थिए । २०७४ को विद्रोहका कारण त्यो पद पनि खोसियो ।
२०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसकै समर्थनमा रुम्दाली मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । पार्टीले टिकट दिएपनि विद्यानतः कारबाही फुकुवा भईनसकेका कारण रुख चिन्हबाट चुनाव लड्न नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बने ।
मानेभञ्ज्याङमा रुम्दाली चुनौतिको चाङ पन्छाउँदै मैदानमा माहोल बनाउन उत्रिएका छन् ।
उनी विरुद्ध एमाले–जसपाको बलियो तालमेल छ । एमालेले अध्यक्षमा रुपलाल तामाङ र उपाध्यक्षमा जसपाले दीपेन्द्र रुम्दालीलाई उम्मेदवार बनाएको छ । ज्ञानेन्द्रकै सहोदर भाई दीपेन्द्रले मानेभञ्ज्याङमा कांग्रेस विरुद्धको मोर्चा सम्हालिरहेका छन् ।
घरभित्रकै पूणसाथ नपाएका ज्ञानेन्द्र रुम्दालीलाई गाउँपालिका भरिका बहुमत मतदाताको मन जितेर मत ल्याउनुपर्ने आवश्यकता छ । हिँजो कांग्रेसका आधिकारीक उम्मेदवार विरुद्ध विद्रोह गर्दा आफ्नै पार्टीभित्रका नेतासँग बढेको दुरी घटाउनु मात्रै छैन २०७९ मा टिकट नपाएर कुँडिएका मन बुझाउनु पनि छ । त्यसमाथी स्वतन्त्र उम्मेदवारी नयाँ चुनाव चिन्ह पढाएर कन्ठस्त पार्नुपर्ने जवरजस्त आवश्यकता छ । एमाले–जसपा गठबन्धनसँग भिड्नुपर्ने चुनौतीमाझ आफ्नै मत बदर हुने चिन्ता छ । अरु स्थानीय तहमा सत्तारुढ दलको गठबन्धन छ । मानेभञ्ज्याङमा गठबन्धन भित्रकै दलहरु प्रतिस्पर्धामा छन् । माओवादीका आफ्नै उम्मेदवार छन् । जसपा एमालेसँग मिलेर कांग्रेस हराउ अभियानमा छ ।
२०७४ मै रुम्दालीले स्थानीय निर्वाचनमा मानेभन्ज्याङ गाउँपालिका प्रमुख पदको लागि दाबी गरेका थिए । त्यतिबेला पनि टिकट नपाएपछि प्रदेश सभाको आकांक्षी सूचीमा थिए । त्यो पनि नपाएपछि विद्रोह गरेका रुम्दालीलाई यसपटक पनि स्थानीय तहमा टिकट नदिए फेरि संघ र प्रदेशको निर्वाचनमा रुम्दाली कांग्रेस हराउन निर्णायक हुने डरले कांग्रेसले पार्टीबाट चुनाव लड्न नमिल्ने अवस्थामा पनि स्वतन्त्र उठाएर समर्थन गरेको छ । उनलाई जिताउन कांग्रेसले कसरत गरिरहेको छ ।
सधैंका बागी रुम्दालीसँग कति मान्छे छन् रु जित्छन् त चुनाव रु भन्ने धेरैको जिज्ञासा छ । उनका पछि कति मान्छे दगुर्छन् भन्ने बैशाख ३० को चुनावी परिणामले देखाउँछ । टिकट नपाउँदा विद्रोह गर्ने रुम्दाली टिकट पाउँदा जित्ने हैसियत राख्छन् राख्दैनन् त्यो पनि सोही परिणामले दर्शाउँछ । जित सहज छैन तर यदि स्वतन्त्र उठेर पनि चुनाव जिते उनी जनमत भएका शक्तिशाली नेताका रुपमा स्थापित हुनेछन् ।












