आमनिर्वाचनको अहिलेसम्म प्राप्त मत परिणाममा प्रत्यक्षतर्फ एमाले र नेकपाबीच कडा टक्कर देखिएको छ । दुवै दलले अहिलेसम्म ७-७ सीटमा जित हासिल गरेका छन् ।
२०७९ सालको चुनावमा एमालेले प्रत्यक्षतर्फ नै ४४ सीट जितेको थियो । एमालेको सीटसंख्यामा यसपाली भारी ह्रास आएको छ । मतगणना अन्तिम चरणमा पुग्दा अब एमालेका ३ उम्मेदवारको अग्रता छ । उनीहरू तिनैजनाले जिते भने एमालेको प्रत्यक्षमा १० सीट पुग्न सक्छ ।
एमालेका विजयी उम्मेदवारहरूमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम-२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् । बाँके २ बाट मो. इश्तियाक राई, दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र बझाङबाट ऐनबहादुर मगर र दार्जुलाबाट गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । एमालेबाट इलाममा काजीमान कागते, संखुवासभामा अर्जुनकुमार कार्की र अछाममा यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन् ।
यता, नेकपाबाट रुकुमपूर्वमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जित हासिल गरे । यस्तै, रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा। रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानमा, रमेश मल्ल र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । पछिल्लो मतपरिणाममा सिन्धुपाल्चोक २ बाट युवराज दुलालले जितेसँगै नेकपाले एमालेलाई भेटेको हो ।
यद्यपि, अब नेकपाको अग्रता कतै पनि छैन । एमालेले अग्रता लिएका स्थानमा जितेको खण्डमा नेकपाभन्दा धेरै सीट हुन्छ ।
समग्र नतिजामा भने एमाले नेकपाभन्दा अगाडि रहने छ । प्रत्यक्षमा टक्कर दिए पनि समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेभन्दा निकै पछि छ । अहिलेसम्म ४० लाख ६० हजार ६९९ मत गणना भएकोमा एमालेले ५ लाख ७८ हजार ४०७ मत र नेकपाले २ लाख ७३ हजार ३९९ मत ल्याएका छन् ।
एमालेले ल्याइरहेको मत कुल सदर मतको १४.२४ प्रतिशत हो भने नेकपाले ६.७३ प्रतिशतको दरले मत ल्याइरहेको छ । यसले गर्दा एमाले र नेकपाको सीटसंख्यामा उल्लेख्य अन्तर हुनसक्ने देखिन्छ ।
अहिलेसम्मको गणित हेर्दा टप ५ मा यसअघिकै पाँच दलहरु कायम रहने अवस्था देखिएको छ । यद्यपि, उनीहरूको वरीयताक्रममा भने हेरफेर हुनेछ ।
यसअघि चौंथो ठूलो दलका रुपमा रहेको रास्वपा भारी बहुमतका साथ पहिलो दल बन्न पुगेको छ । यसअघिको सबैभन्दा ठूलो दल कांग्रेस दोस्रोमा झर्नेछ । दोस्रोमा रहेको एमाले तेस्रोमा झर्ने छ । चौंथो स्थानमा नेकपा र पाँचौंमा राप्रपा रहन सक्ने देखिन्छ ।











