रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा र गाउँपालिकामा कार्यरत कर्मचारीको तीन दिन बराबरको तलब बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।
खिजीदेम्बाका जनप्रतिनिधि र कर्मचारीले मानविय संवेदनालाई ख्यालगर्दै स्वच्छिक रुपमा दशौं लाख रकम राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका हुन् ।
जनप्रतिनिधिको १ महिनाको सेवा सुविधा वापतको रकम र कर्मचारीको ३ दिन तलव बापतको जोड्दा १० लाख भन्दा बढी हुने रकम एकमुष्ट राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गरेर राष्ट्रलाई विपद् परेका बेला पालिकालाई आर्थिक भार नपर्नेगरी खिजीदेम्बामा कार्यरत कर्मचारी र निर्वाचित जनप्रतिनिधिको तर्फबाट योगदान गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।
संघ सरकार र सम्बन्धित क्षेत्रका स्थानीय तहको प्रयासले मात्रै सम्भव नहुने भएकाले विपद्मा परेका नागरिकको उद्धार र राहतमा देशभरका स्थानीय सरकारको समेत दायित्व हुने खिजीदेम्बाका अध्यक्ष शेर्पाको भनाई छ । ‘यो राष्ट्रिय विपद् हो । संघ सरकार र त्यहाँका पालिकाले मात्रै यो विपद्को सामाना गर्न सम्भव छैन, सबै जुट्नुपर्छ भन्ने दायित्व बोध गरेरै खिजीदेम्बाबाट दशौंलाख रकम सहयोग पठाउने निर्णय गरियो ।’ अध्यक्ष शेर्पाले भने, ‘रसुवाक्षेत्रमा जहाँ बाढीले वितण्डा मच्चायो त्यो चाइनासँगको नाका जोडिएको ठाउँ मात्रै होइन नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने मार्गपनि हो । त्यसैले विपद्मा परेका नागरिकको उद्दार उपचारको कामसँगै त्यो ठाउँको पुनःनिर्माण पनि तिव्रगतिमा गर्नुपर्ने भएकाले चौतर्फि सहयोगको जरुरी छ ।’ भोटेकोशीका बाढी पीडितको उद्दार, उपचार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न अध्यक्ष शेर्पाले सबैसँग अपिल गरेका छन् ।
अध्यक्ष शेर्पा, उपाध्यक्ष सुशिला तामाङ तथा सबै नौ वटै वडाका वडाध्यक्षसहित जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले विपद्को समयमा पीडितको उद्धार तथा राहतमा सहयोग पु¥याउने निर्णय गरेसँगै प्रमुख प्रशासकीय अधिकृत नविना गिरीको संयोजकत्वमा बसेको कर्मचारीको बैठकले कर्मचारीको तर्फबाट पनि एकमुष्ट सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैबीच रसुवा क्षेत्रमा विभिन्न व्यवसाय, ज्याला–मजदुरी तथा पर्यटन क्षेत्रमा कार्यरत ओखलढुंगाको खिजीदेम्बाका १० जना नागरिक बाढीपछि सम्पर्कविहीन भएका थिए । उनिहरु मध्ये १ जना आज बिहान परिवारको सम्पर्कमा आएका छन् । अन्य ९ जना खिजीदेम्बाका नागरिकको खोजी तथा उद्दारका लागि गाउँपालिकाले सरकारसँग माग गरेको छ ।
खिजीदेम्बाले बुधबार नै शोक वक्तव्य जारी गरेर रसुवा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार र उपचारमा जुट्न सरकारसँग माग गरेको थियो ।











