विराटनगर । प्रदेश सभा सदस्य गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सरकारी सहीछाप कीर्तेको आरोप लागेपछि उनलाई प्रहरीले खोज्दै आएको थियो ।
नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले मिति २०७९ असार १५ गते देखि लागु हुनेगरि पदबाट राजीनामा दिएकी हुन् ।
प्रदेश १ सभाको दशौँ तथा बजेट अधिवेशनको सोह्रौँ बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले राजीनामा बारेमा सभालाई जानकारी गराउँदै खातुनले पेस गरेको राजीनामा असार १५ गते नै स्वीकृत भएको बताए । प्रदेश सभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
सभामुख भण्डारीका अनुसार प्रदेश सभा सदस्य खातुनले पेस गरेको राजीनामा नेपालको संविधानको धारा १८० को खण्ड (क) तथा प्रदेश सभा नियमावली २०७४को नियम १६९ तथा ७० बमोजिम समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य रिक्त रहेको छ । गुलेफुन खातुनको राजीनामा सँगै प्रदेश १ सभामा ४ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको छ ।
नेकपा माओवादी केन्द्रले टंक आङ्बुहाङलाई कारबाही गरेसँगै उनको पद रिक्त रहेको छ भने झापाका गोपाल प्रसाद बुढाथोकी र इलाममा काजीमान कागतेले मेयरमा उम्मेदवार बन्दै प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए ।
उच्च अदालत विराटनगरको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेकी खातुनको सरकारी सहीछाप कीर्ते मुद्दामा पुनः सुनुवाइका लागि सर्वोच्चले निस्सा नदिने आदेश गरेपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी हुन् ।