२०८२, ३१ असार मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेलोसीको ताइवान भ्रमणपछि चीनले खोज्‍यो नेपालको साथ, राजदूतले भनिन्- समर्थन पाउनेमा विश्‍वास छ



काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छन्। अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान एक टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन्।

‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ उनले भनेकी छन्, ‘यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो।’

चीन-नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत यान्छीले भनेकी छन्, ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन्।’

राजदूत यान्छीले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गरेकी छन्। ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन्,’ उनले भनेकी छन्, ‘एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको राजदूत यान्छीले बताएकी छन्। ‘यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्दछ। यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँछ,’ उनले भनेकी छिन्, ‘चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ, र संयुक्त राज्य अमेरिकालाई गम्भीर विरोध र कडा विरोध गरेको छ।’

ताइवानको संसद्‌मा पेलोसीको सम्बोधन

अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छन्। बुधबार संसदमा सम्बोधनको क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छन्। पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उल्लेख गरेकी छिन्।

पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छन्। यसैबीच चीनको विदेश मन्त्रालयले पेलोसीले ताइवान भ्रमणबाट जवाफ माग्दै अमेरिकी राजदूत नेकोलास बर्न्सलाई बोलाएको छ।

चिनियाँ उप विदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई अनैतिक भ्रमणको संज्ञा दिँदै यो भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले चीन त्यतिकै चुप लागेर नबस्ने स्पष्ट पारेका छन्। अमेरिकी संसद्‌की सभामुख पेलोसी मंगलबार राति ताइवानमा उत्रिएकी हुन्। स्थानीय समयानुसार पेलोसी मंगलबार राति १०:४४ बजे ताइपेईमा रहेको सोङसान विमानस्थलमा अवतरण गरेकी हुन्।

चीनको चेतावनी

चिनियाँ अधिकारीले पेलोसीको ताइवान भ्रमणका सम्पूर्ण परिणामको जिम्मेवारी बाइडेन प्रशासनले लिनुपर्ने चेतावनी दिएको चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्समा भनिएको छ, ‘यस्ता भ्रमणले बिग्रिएको चीन-अमेरिका सम्बन्धलाई थप अप्ठ्यारोमा पार्नेछ भने ताइवान र चीनको ध्वंशात्मक अवस्था सिर्जना गर्नेछ।’

पेलोसीले ताइवान ल्यान्ड गर्नुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले स्वार्थपूर्ण रुपमा आगोसँग खेल्‍ने काम गरेको चेतावनी दिएका थिए। उनले भनेका थिए, ‘ताइवानको प्रश्‍नले १.४ बिलियन चिनियाँ नागरिकसँग शत्रुता सुरु गर्नु हो। यसले राम्रो नतिजा ल्याउने छैन।’ उनले संयुक्त राज्य अमेरिकाले आफ्नो प्रतिबद्धतालाई बिर्सिएको र ताइवानको मामिलामा विश्‍वासघात गरेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

पेलोसी ताइवान ल्यान्ड हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइान भ्रमण गर्ने अथवा नगर्ने निर्णय पेलोसी स्वयंले नै गर्ने बताएका थिए। उनले भनेका थिए, ‘अमेरिकी संसद् स्वतन्त्र हुन्छ। त्यसकारण संसद्‌को सभामुखले स्वतन्त्र निर्णय गर्नेछन्।’

यसअघि पनि अमेरिकी सांसद्हरुले ताइवान भ्रमण गर्ने गरेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पेलोसीको भ्रमणको विषयलाई लिएर चीनले अनावश्यक तनाव सिर्जना गर्न खोजेको पनि बताएका थिए।

यसअघि चिनियाँ अधिकारीहरूले भने पेलोसीको ताइवान भ्रमणलाई अमेरिकी नीतिमा भएको परिवर्तनको रूपमा हेर्ने र वातावरणलाई उत्तेजित पार्न खोजेको रूपमा बुझिने बताएका थिए। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका थिए, ‘यदि अमेरिकाले आफ्नो बाटो हिँड्न जोड दिन्छ भने चीनले दृढतापूर्वक प्रतिक्रिया दिन र त्यसको प्रतिरोध गर्न जोडदार कदम चाल्नेछ र हामी जे भन्छौं, त्यही गर्नेछौं।’

चीनले ताइवानलाई आफ्नो हिस्साको रुपमा मान्दै आएको छ भने ताइवानले आफू स्वतन्त्र मुलुक भएको दाबी गरिरहेको छ। अमेरिकालगायत पश्‍चिमा मुलुकहरुले पनि ताइवानलाई स्वतन्त्र मुलुकजस्तै व्यवहार गरिरहेका छन्। यसबाट चीन आक्रोशित बनेको हो। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘आवश्यक परेको अवस्थामा ताइवानलाई पुनर्एकीकरण गर्ने’ बताएका थिए।

प्रकाशित मिति : २०७९, १८ श्रावण बुधबार ००:००  १२ : ०७ बजे