काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन् ।
उनले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षेत्र, राष्ट्रियता र देश बनाउन गरेका काम सुरक्षित रहेको जिकिर गरे ।
पोखरेलले गठबन्धन सरकारले गरेका ‘अपराधपूर्ण’ कामका बारेमा पनि जनतालाई सजग गराउने धारणा राखे । उनले स्थानीय निर्वाचनमा जनताको लोकप्रिय मत प्राप्त गरेको देखाएको र कतिपय सिट उमेद्वारी सम्बन्धी व्यवस्थापकीय कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको बताए ।
कार्यक्रममा पोखरेलले निष्पक्षढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरुलाई आग्रह गरे ।