पश्चिम नवलपरासी । नेकपा माओवादी केन्द्र नवलपरासीले प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सिता देवी बौडेल, रामानन्द यादवलाई सिफारिस गरिएको छ । यस्तै ओमराज अधिकारीको नाम प्रदेश सभामा सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री घनश्याम यादव, रामधनी केवट एवम् भेष बहादुर खराल (विवि खराल) लाई सिफारिस गरेको माओवादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादवले जानकारी दिए । यस्तै, प्रदेश निर्वाचन क्षेत्र मध्ये १ (क) मा राजु प्रसाद हरिजन, केयर कुँवर र शुभान अलि अंसारी सिफारिस भएका छन् । यस्तै क्षेत्र नम्बर १ (ख) बाट अमित खडका, सुदामा कोईरी, सुरेन्द्र शर्मा र घिरज त्रिपाठीलगायतको नाम सिफारिस भएको छ ।
यस्तै, प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लोक प्रसाद श्रेष्ठ, भविश्वर तिवारी, गोपी ज्ञवाली, वीर बहादुर विक, खड्ग बस्नेतलाई सिफारिस गरिएको छ । २ (ख) बाट बुद्धन अलि, ध्रुव नारायण बनियाँ, धु्रव नाथ पाण्डे, सुरेश गुप्ता, दिनेश यादव र कन्हैया कोहारको नाम सिफारिस भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का ईन्चार्ज गोपी ज्ञवालीले बताए ।
माओवादी केन्द्रको प्रदेश समितिले सकेसम्म निर्विरोध, नभए अधिकतम ३ जना आकांक्षीहरुको नाम सिफारिस गर्न जिल्ला समन्वयन समितिलाई निर्देशन दिएको थियो ।
कतिपय क्षेत्रहरुमा तीन भन्दा बढी आकांक्षीहरुको नाम आएकोले आकांक्षी सबैको नाम पठाईएको ईन्चार्ज ज्ञवालीले बताए । माओवादी केन्द्रको प्रदेश कार्यालयले उमेदवार छनोट गर्दा राजनैतिक नियुक्ति पाएका, पछिल्लो निर्वाचनमा भाग लिएका वा राज्यको कुनै सुविधा नलिएका कार्यकर्तालाई प्राथमिकता दिने नियमावली अनुसार अगाडि बढ्ने माओवादीले जनाएको छ ।