बागलुङको तमानखोलामा आलु महोत्सव हुने भएको छ । आलु उत्पादनमा उर्वर मानिने तमानखोलाको आलुलाई प्रवद्र्धन गर्न गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।
गाउँपालिकामा उत्पादन भएको आलुको प्रवद्र्धन, प्रचारप्रसार र बजारीकरणका लागि आलु महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । आलु महोत्सव मार्फत तमानखोलामा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने अध्यक्ष बुढामगरको भनाई छ ।
वर्षौंदेखि तमानखोलाका किसानले हजारौँ रोपनी जग्गामा आलु उत्पादन गर्दै आएका छन् । गाउँपालिकाले पनि आलु खेतीमा अनुदान र प्राविधिक सहयोग दिँदै आएको छ ।
नेपाली महिलाहरुको पावन पर्व हरितालिका तीज र विश्वकर्मा पुजाको अवसरपारेर असोज १ गतेबाट सुरु हुने आलु महोत्सव ५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् ।