२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका सार्वजनिक शौचालयमा शुल्क तिर्नु नपर्ने



काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक शौचालयले शौचालय प्रयोग गरेबापत शुल्क लिन नपाउने भएका छन् । महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै अब सेवाग्राहीले महानगरभित्रका सबै शौचालय नि:शुल्क प्रयोग गर्न सक्ने जनाएको हो ।

जारी सूचनामा भनिएको छ, ‘सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयले सेवाग्राहीसँग कुनै पनि शुल्क नलिन सूचना जारी गरिएको छ । नि:शुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकले सूचना प्रकाशित भएको १५ दिनभित्र महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा प्रस्ताव पेस गर्न हुन अनुरोध गरिन्छ ।’

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरभित्रका सबै शौचालय नि:शुल्क बनाउने योजनाअनुसार सूचना जारी गरिएको हो । ‘केही निजी संघ–संस्था, होटेल, रेस्टुरेन्टले उपलब्ध गराएका शौचालय नि:शुल्क छन् । त्यसबाहेक महानगर आफैँले सञ्चालन गरिरहेका शौचालय पनि नि:शुल्क बनाउन सकेका थिएनौँ । अब ती सबै शौचालय नि:शुल्क हुनेछन्,’ प्रवक्ता मानन्धरले भने ।

महानगरभित्र विभिन्न संघ–संस्था, होटेल, रेस्टुरेन्टका एक सय पाँच शौचालय नि:शुल्क छन् भने महानगरले सञ्चालन गरिरहेका ४४ र निजी संस्थाले सञ्चालनमा ल्याएका ६ वटा स्मार्ट शौचालयले शुल्क लिँदै आएका छन् । महानगरका अनुसार तोकिएको समयावधिपश्चात् महानगरभित्रका सबै सार्वजनिक शौचालय नि:शुल्क सञ्चालन गर्नुपर्नेछ । सूचनाविपरीत सार्वजनिक शौचालय प्रयोगबापत शुल्क असुल गरे कारबाही हुनेछ ।

यसैगरी, महानगरले कुनै सरकारी, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत नि:शुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध गरेको छ । हाल महानगरभित्रका शौचालय प्रयोग गरेबापत पाँचदेखि १० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

प्रकाशित मिति : २०८१, २५ जेठ शुक्रबार ००:००  १ : ३० बजे