२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ सय ४० बढी शेर्पा विद्यार्थीलाई सम्मान गर्ने तयारी



नेपाल शेर्पा विद्यार्थी संघ, केन्द्रीय समितिले प्रवेशीका परीक्षा (एसईई) उत्तीर्ण १ सय ४० बढी विद्यार्थीलाई सम्मान गर्ने भएको छ । शेर्वी लोप्टुवा कन्केल्भ, एसईई एप्रिशेसन, एकेडेमिक काउन्सिलिङ एण्ड इम्पाउरमेनट प्रोग्रामको अवसरमा १ सय ४५ जना शेर्पा विद्यार्थीहरुलाई सम्मान गर्न लागेको हो ।

साउन ४ र ५ गते शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) बौद्धमा विशेष समारोह आयोजना गरी २०८० को प्रवेशीका परीक्षामा सहभागि भई उत्तीर्ण गरी मापदण्ड अनुसार फारम भरेका विद्यार्थीहरुलाई सम्मान गर्न लागेको बरिष्ठ उपध्यक्ष फूर्वा छिरिङ शेर्पाले जानकारी दिए ।

देशैभरबाट प्रवेशीका उत्तीर्ण विद्यार्थीहरुको विवरण संकलन गरी उत्कृष्ठ अंक ल्याउनेहरुलाई सम्मान तथा विद्या पुरस्कार समेत वितरण गर्ने कार्यक्रम रहेको बरिष्ठ उपाध्यक्ष शेर्पाको भनाई छ । हरेक बर्ष प्रदान गर्दै आएको विद्या पुरस्कार अन्तर्गत विभिन्न १४ वटा शिर्षकमा ४७ जनाले जनही ५ हजारदेखि २१ हजारसम्म नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ठ अंक (जिपिए) ल्याउने शेर्पा विद्यार्थीलाई विभिन्न कलेजहरुमा दश जोड दुईसम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवसर समेत प्रदान गरिने अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

गाउँवेँशी, शहर, शैक्षिक जागरणको लहर भन्ने आदर्शका साथ आयोजना हुने कार्यक्रममा उच्च शिक्षा अध्ययनका क्रममा विषय छनौट र सुन्दर भविष्य निर्माणका लागि मार्ग पहिल्याउन सहज होस भन्ने हेतुले शैक्षिक परामर्श समेत सोही अवसरमा हुने अध्यक्ष शेर्पाको भनाई छ ।

कार्यक्रमकै अवसरमा विद्यार्थीको प्रतिभा पहिचान, शेर्पा जातिको पहिचानमा आधारित वस्तुहरुको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने तयारी रहेको जनाइएको छ ।  त्यस्तै, विद्यार्थी र विज्ञहरुवीच शैक्षिक अन्तरक्रिया र अन्तघुलनका विविध आयमको जोड्ने गरी तयारी भइरहेको महासचिव पेम्बा गेल्जेन शेर्पाले जानकारी दिए । 

त्यस्तै, दन्त शिविर, शेर्पा सन्देश स्मारिका विमोचन, विभिन्न खेलकूद, कानूनी परामर्श, विद्यार्थीहरुको विषयगत प्रस्तुती र विभिन्न खाना तथा व्यवसायिक प्रदर्शनी समेत हुने गरी तयारी गरेको संघले जनाइएको छ ।

आयोजकले जनाए अनुसार श्रावन ४ गते विद्यार्थीहरुवीच व्यक्तिगत शैक्षिक परामर्श, सामाजिक भावना अभिबृद्धिसहित सामाजिकीकरण, खेलकूद, नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतिभा प्रस्तती, खाना र परम्परागत वस्तुहरुको प्रदर्शनी र सांगीतिक कार्यक्रम हुनेछ भने ५ गते सम्मान, शैक्षिक अन्तक्र्रिया, विधा पुरस्कार वितरण, औपचारिक समारोह हुने शेर्पा संघका सचिव लाक्पा जी शेर्पाले अनलाइन सरोकारसँग बताए ।

शेर्पा विद्यार्थीहरुको हकहित, क्षमता विकास, शैक्षिक जागरण तथा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने हेतुले शेर्पा विद्यार्थी मञ्चको नामबाट तीन दशकअघि स्थापना भएको शेर्पा विद्यार्थीहरुको संस्थाले विभिन्न रुपान्तरण, जागरणका कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१, ३ श्रावण बिहीबार ००:००  १० : २७ बजे