२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाइल्यान्डमा ३७ वर्षीया प्रधानमन्त्री



संवैधानिक अदालतले अप्रत्याशित रूपमा प्रधानमन्त्री श्रीथा टाविसिनलाई बर्खास्त गरेको दुई दिनपछि थाइल्यान्डले नयाँ प्रधानमन्त्री पाएको छ । थाई संसद्मा भएको मतदानमार्फत ३७ वर्षीया पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी हुन् । योसँगै पेतोङतार्न थाइल्यान्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीसमेत बनेकी छन् ।

संसद्मा शुक्रबार भएको मतदानमा पेतोङतार्नले ३ सय १९ मत ल्याएर निर्वाचित भएकी हुन् । विपक्षमा १ सय ४५ मत परेको थियो भने २७ सांसद अनुपस्थित थिए । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै बैंककस्थित पार्टी मुख्यालयमा कुरा गर्दै पेतोङतार्नले आफूले ‘निकै सम्मानित अनुभव गरेको’ बताएकी छन् । ‘प्रधानमन्त्रीका रूपमा देशका लागि सक्दो काम गर्नेछु,’ उनले भनेकी छन्, ‘हामीले अवसरहरू निर्माण गर्न र जीवनस्तर सुधार गर्न थाइल्यान्डका सबै जनतालाई सशक्त बनाउन सक्छौं भन्नेमा म आशावादी छु ।’ पदभार ग्रहण गर्नुअघि थाई राजा महाभाजिरालङ्कर्णले उनको नियुक्ति अनुमोदन गर्नुपर्नेछ ।

पेतोङतार्न थाइल्यान्डकी दोस्रो महिला प्रधानमन्त्रीसमेत हुन् । यसअघि उनकी काकी यिङ्गलक सिनावात्रा थाइल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् । पेतोङतार्नलाई शुक्रबार बिहान फेउ थाई पार्टीका महासचिव सोरावङ थिएङथोङ्गले प्रधानमन्त्री पदका लागि मनोनयन गरेका थिए । नवनियुक्त प्रधानमन्त्री पेतोङतार्नसामु थाइल्यान्डको अस्थिर अर्थतन्त्र सुधार्ने चुनौती छ । त्यसका साथै उनले थाइल्यान्डमा पटकपटक हुने सैन्य ‘कू’ र अदालतको अनावश्यक हस्तक्षेप रोक्नुपर्ने देखिन्छ । सैन्य ‘कू’ र अदालतको हस्तक्षेपले पेतोङतार्नको पार्टी नेतृत्वका चार वटा सरकार अपदस्थ भइसकेका छन् ।

थाइल्यान्डको संवैधानिक अदालतले श्रीथा टाविसिनलाई बुधबार ‘नैतिकताको नियम’ उल्लंघन गरेको भन्दै पदमुक्त गरिदिएको थियो । यसअघि नै जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेको भन्दै अदालतले उनलाई पदमुक्त गरेको हो । अदालतको फैसलापछि प्रतिक्रिया दिँदै टाविसिनले आफ्नो इमानप्रति विश्वस्त रहेको बताएका थिए । उनले ‘अदालतको फैसलाले दुःख लागेको भए पनि आदेशप्रति असहमत रहेको नभन्ने’ प्रतिक्रिया दिएका थिए ।

पेतोङतार्न पूर्वप्रधानमन्त्री तथा अर्बपति व्यवसायी थाक्सिन सिनावात्राकी छोरी हुन् । थाक्सिन पहिलो पटक २००१ मा थाइल्यान्डको प्रधानमन्त्री भएका थिए । तर २००६ मा सेनाले ‘कू’ गरेसँगै उनको दोस्रो कार्यकालको अन्त्य भएको थियो । त्यसपछि निर्वासनमा रहेका थाक्सिन १५ वर्षपछि गत अक्टोबरमा थाइल्यान्ड फर्केका थिए । उनी श्रीथा टाविसिन प्रधानमन्त्री हुनुभन्दा केही घण्टाअघि मात्र देश फर्केका थिए । फेउ थाई पार्टीसँगको ‘ठूलो सौदाबाजी’ पछि उनी देश फर्केका थिए । त्यसयता थाक्सिनको थाई राक थाई र फेउ थाई पार्टीले गठबन्धन सरकार चलाइरहेका छन् ।

गत जुनमा उनलाई ‘राजसंस्थाको अपमान गरेको’ आरोपमा मुद्दा लगाइएको थियो । उक्त आरोपमा मुद्दा लगाइएका थाक्सिन थाइल्यान्डका सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन् । थाइल्यान्डमा राजनीतिक प्रतिशोध साध्न ‘लेसे–मेजेस्टी’ कानुनअनुसार मुद्दा लगाउने गरिन्छ । थाक्सिनकी बहिनी यिङ्गलक २०११ मा अत्यधिक मतसहित निर्वाचित भएकी थिइन् । तर पछि उनलाई अदालतले अयोग्य ठहर गरेको थियो । त्यसपछि सैन्य ‘कु’ मार्फत अपदस्थ यिङ्गलक हाल निर्वासनमा छिन् ।

१९८६ अगस्ट २१ मा बैंककमा जन्मिएकी पेतोङतार्नले बेलायतको युनिभर्सिटी अफ सर्रेबाट इन्टरनेसनल होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । २०२१ मा फेउ थाई पार्टी प्रवेश गरेकी उनी २०२३ अक्टोबरमा पार्टी प्रमुख बनेकी थिइन् । पेतोङतार्न पार्टी प्रमुख भएसँगै फेउ थाई पार्टीमा पनि नयाँ ऊर्जा थपिएको थियो । पछिल्लो समय थाई राजनीतिमा कमजोर बन्दै गएको पार्टी उनको नेतृत्वमा पुनर्जीवित हुने अपेक्षा गरिएको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८१, १ भाद्र शनिबार ००:००  १२ : ०३ बजे