वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।
विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थिएन् । “विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभँैसी पाल्नुका साथै खेतबारीमा सुन्तलाका बिरुवा लगाए”, उहाँले भन्नुभयो, “कुखुरा, अण्डा र गाईभँैसीको दूध बेचेर घरव्यवहार चलाउने र छोराछोरीलाई इन्जिनियर, नर्स र कानुन व्यवसाय पढाए ।”
तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता हुनुहुन्छ । तीनै बहिनी हाल अस्टे«लियामा छन् । काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाइलाई अन्तिम चरणमा पु¥याएका छन् । तीन सय ५० बोटमा फलेका सुन्तलालाई यसपालि रु १४ लाखमा बोटबाट नटिप्दै व्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेसाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल हुनुभएको छ ।
उहाँले जिल्ला र केन्द्रीयस्तरको कृषि उद्यमी पुरस्कार पनि पाउनुभएको छ । हाल १२ वटा गाईभैँसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्नुहुन्छ । तिलक, श्रीमती तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा व्यस्त हुन्छन् । बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाइ गर्नुभएको थियो ।