बागमतीमा एचपीभी खोप अभियान सुरु भएको छ । विश्व क्यान्सर दिवसका अवसर पारेर मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले किशोरीलाई हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानको शुभारम्भ गरेका हुन् ।
हेटौडा १० स्थित ज्ञानदा माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर मुख्यमन्त्री लामाले अभियानको शुभारम्भ गरेका हुन् ।
किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि सञ्चालित खोप अभियान आजदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।
खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरु समेटिने छन् ।