जनकपुरधामका अधिकांश अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको र बिरामीको उपचारमा लापरवाही गर्ने गरेको गुनासोपछि मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह कारबाही गर्न तम्सिएका छन् ।
मापदण्ड विपरितका अस्पतालहरु बन्द गराउन मुख्यमन्त्री सिंहले छड्के अनुगम थालेका हुन् । उनी विएन अस्पताल एण्ड रिसर्च सेन्टर, जनकपुर सिता हस्पिटल, जीवन ज्योती हस्पिटल एण्ड रिसर्च सेन्टरसहितका अस्पताल पुगेका छन् ।
उनले अन्य अस्पतालहरुको पनि छड्के गर्ने र सो क्रममा देखिएको अवस्थाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बुझिएको छ ।
बिरामीको उपचारमा लापरवाही गरेको मुस्कान अस्पताल मुख्यमन्त्री सिंहकै निर्देशनपछि बन्द भइसकेको छ । बिरामीलाई अन्यन्त्र सारेर संचालकले अस्पतालको साँचो आज मुख्यमन्त्री सिंहलाई बुझाएका छन् ।
अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेको समाचार बाहिरिएपछि मुख्यमन्त्री सिंह निरीक्षणमा पुगेका थिए ।
अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेको उक्त अस्पतालमा मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचना नरहेको पाएपछि मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी साँचो बुझाउन निर्देशन दिएका थिए ।