सिन्धुलीको मरिण गाउँपालिकाले पञ्चकन्या पोखरीलाई पर्यटकीय ‘हव’ बनाउने अभियान थालेको छ । गाउँपालिकाको वडा नम्बर ५, घाटास्थित जिल्लाकै एक मात्र प्राकृतिक पोखरीका रूपमा रहेको ऐतिहासिक पञ्चकन्या पोखरीलाई गाउँपालिकाले यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अभियान थालेको हो ।
ऐतिहासिक पोखरीको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पालिकाको अगुवाईमा पोखरी आसपासका क्षेत्रमा सरसफाई र पूर्वाधार विकासका काम भईरहेका छन् । घेराबार, पिकनिक स्थल, शौचालय, स्नान घर, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडक स्तरोन्नती, मठमन्दिर मर्मत तथा सिंगार, बाल उद्यान, प्रतिक्षालय तथा फोटोसेसन र मनोरञ्जनका लागि विविध पूर्वाधार निर्माणका काम भईरहेका छन् ।
गाउँपालिकाले पञ्चकन्यामै कार्यपालिकाको बैठक राखेर यस क्षेत्रको प्रवद्र्धनको अभियानलाई व्यापक बनाउन जनप्रतिनिधि, सरोकारवाला र स्थानीयलाई आवहन गरेको थियो ।
गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको नेतृत्वमा मरिणका स्थानीयले १२ दिन देखि लगातार पञ्चकन्या पोखरी क्षेत्रमा पूर्वाधार विकासको काममा श्रमदान गरिरहेका छन् ।
सिन्धुली र आसपासका जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटक वर्षेनी नयाँ वर्षसहितका विशेष अवसर र चाडपर्वमा पञ्चकन्या दर्शन, घुमफिर र वनभोजका लागि आउने भएकाले पर्यटकको सहजता र पर्यटन मार्फत मरिणको आर्थिक समृद्धिका लागि पहल गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले अनलाइन सरोकारसँग बताए ।
वरिपरि जङ्गल र बीचमा अपत्यारिलो पोखरी छ । न माथिबाट पानी आउने ठाउँ छ, न तलतिर निस्किने निकास नै छ । तर १२ महिना पोखरीमा उत्तिकै पानी हुन्छ र कमलको फूल फुलिरहन्छ ।
यसअघि प्रायः सधैँ सुनसानजस्तै रहने पञ्चकन्या पोखरीमा पूर्वाधार निर्माणसँगै पर्यटकहरु घुम्न र रम्न आउनेक्रम बढेको छ ।
संधैजसो पञ्चकन्या मन्दिरमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन ठुलो मेला लाग्ने गरेको छ ।
सिन्धुलीमाढीको पश्चिमतर्फ २० किलोमिटर दुरीमा पर्ने पञ्चकन्या ऐतिहासिक तथा धार्मिक पोखरी हो । यो पोखरीलाई यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक मानिन्छ । पञ्चकन्या पोखरी हजारौं वर्ष अगावैदेखिको निर्मल जलकुण्ड मानिन्छ ।
किम्बदन्तीअनुसार पञ्चकन्या पोखरीमा पाँच वटी देवकन्याको बासस्थान रहेको मानिन्छ । पञ्चकन्या पोखरीको डिलमा रहेको पञ्चकन्या देवीलाई शुद्ध भै पूजा अर्चना गरी भाकल गरे मागेको वर पाईने जनविश्वास रही आएको छ ।
पञ्चकन्या पोखरीमा फूल्ने फुल, स्वच्छ, हराभरा वातावरण, सबै प्रकारको सौन्दर्यले भरिपूर्ण दृष्यले पर्यटक आकर्षित हुन्छन् ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकन्या पोखरी प्रचार–प्रसारको कमी र उचित संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा थियो । पछिल्लो समय स्थानीय सरकारले गुरुयोजना बनाएरै पोखरी संरक्षण र विकास गरेसँगै पञ्चकन्या यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।