युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका शैक्षिक तथा सामाजिक अभियान्ता राजन श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् । २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने कार्यक्रममा आंशिक छात्रवृत्तिसहितको प्रतिनिधि (Partially Funded Delegate) को रूपमा नेपालका उदाउँदा युवा नेतृत्वकर्ता तथा शैक्षिक एवं समाजिक अभियन्ता श्रेष्ठ चयन भएका हुन् ।

श्रेष्ठ नेपालको राष्ट्रिय स्तरमै शैक्षिक र सामाजिक क्षेत्रमा नविनतम् कार्य गर्ने युवा हुन् ।
ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा चयन भएपछि उनले यस अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रका लागि गौरवको विषय बनेको प्रतिक्रिया दिएका छन् । विश्वका विभिन्न देशका व्यवसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनु नेपालको लागि उल्लेखनीय उपलब्धि मानिएको उनको भनाई छ ।
ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि, संगठन व्यवस्थापन, रणनीतिक सोच र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित हुनेछ । सहभागीहरूले विभिन्न कार्यशाला, प्रशिक्षण तथा नेटवर्किङ सत्रमार्फत ज्ञान र अनुभव साटासाट गर्नेछन् ।

आयोजक संस्थाले पठाएको आधिकारिक सूचनामा श्रेष्ठको ‘क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरू’ले उहाँलाई छनोटमा विशेष स्थान दिलाएको उल्लेख छ ।
प्रतिनिधिका रूपमा उनले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै कार्यक्रममा सहभागिता पश्चात भिडियो तथा लिखित प्रतिवेदन पेस गर्नुपर्नेछ । साथै, उनले प्राप्त ज्ञानलाई आफ्ना परियोजना वा क्रियाकलापहरूमा लागू गरी त्यसको प्रभावलाई अभिलेख सहित प्रस्तुत गर्नुपर्नेछ ।
कार्यक्रममा सहभागी हुनका लागि आवश्यक भिसा प्रक्रिया श्रेष्ठ आफैले पुरा गर्नुपर्नेछ भने आयोजक संस्थाले औपचारिक निमन्त्रणापत्र तथा कार्यक्रम कार्यतालिका प्रदान गर्नेछ । सहभागिता पुष्टि गर्ने अन्तिम मिति २०२५ मे १५ तोकिएको छ ।
मनास्लु वर्ल्ड कलेजका प्रमुख रहेका श्रेष्ठ नेपालमा विभिन्न शैक्षिक र सामाजिक अभियानहरुमा सकृय छन् ।
