रसुवा जिल्लाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ जना बेपत्ता भएका व्यक्तिका परिवार र एक जना मृतकका परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ २५ गते बसेको आर्थिक वर्ष २०८३/०८४ को दोस्रो आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णयअनुसार बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य सदस्यको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। राहत वितरण प्रक्रिया छिटो र पारदर्शी बनाउन सम्बन्धित निकायसँग समन्वय गरी बैंक खातामार्फत रकम पठाइने उल्लेख गरिएको छ।
बैठकले भोटेकोशी गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० (पहिलो संशोधन–२०८३) संशोधन गर्ने निर्णयसमेत गरेको छ। विपद्का बेला राहत वितरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, बाढी र पहिरोका कारण सडक तथा पुल अवरुद्ध भई जोखिममा परेका नागरिकको खोज, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यकताअनुसार हेलिकोप्टरसहित हवाई साधन प्रयोग गर्ने निर्णय पनि गरिएको छ। उद्धार कार्य प्रभावकारी बनाउन स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित परिवारलाई धैर्य गर्न आग्रह गरेको छ।












