२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना महामारी भुलेर ओखलढुंगामा बढेकाे दलिय गतिविधि राेकिएला त ?



ओखलढुंगा । ओखलढुंगा जिल्लामा कोरोनाको कहरका बेला राजनीतिक दलहरुले दलिय गतिविधि गर्न नपाउने भएका छन् । विश्वभर महामारीको रुपमा कोरोना फैलिएको अवस्थामा जिल्लामा राजनितिक दलहरुले भेटघाट, जमघट सहितका गतिविधि बढाएपछि त्यसलाई रोक्ने निर्णय भएको हो ।

बुधबार बसेको जिल्ला कमाण्ड पोष्ट तथा जिल्ला संकट व्यवस्थापन केन्द्र, पालिकास्तरिय संकट व्यवस्थापन केन्द्र र राजनैतिक दलहरु बीचको समन्वयात्मक बैठकले जिल्लामा कोरोना संक्रमण फैलने कुनै गतिविधि नगर्ने निर्णय गरेको छ  । जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख श्री जय बहादुर श्रेष्ठको अध्यक्षता, संघीय सांसद यज्ञराज सुनुवारज्यूको प्रमुख आतिथ्यता र संविधानसभा सदस्य रामहरी खतिवडा समेत उपस्थितीमा बसेको बैठकले जिल्लामा राजनीतिक दल, संघ संस्था तथा सरोकारवाला निकायले कुनैपनि भेला तथा जमघट नगर्ने र हुन नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । कोरोनाको बढ्दो जोखिम न्यूनिकरण गर्न जिल्लाभर संक्रमण रोकथाम र नियन्त्रणका लागि भिडभाड नियन्त्रण गर्ने, पिसिआर परीक्षणको दायरा बढाउने, सबै क्षेत्रबाट कोभिड संक्रमण विरुद्धका अभियानमा सहयोग गर्ने निर्णय भएको उनको भनाई छ । ‘अहिलेको महामारीको अवस्थामा पनि जिल्लामा राजनितिक दलका जमघट हुने गतिविधि बढेकाले संक्रमणको जोखिम बढाएको भन्ने गुनासो आएको थियो । माननीय सहितका विभिन्न दलका शिर्ष नेताज्यूहरु र जनप्रतिनिधि समेत बसेर निर्णय गरिएको छ । अब भिडभाड हुने कार्य हामी हुन दिँदैनौं ।’ प्रजिअ पौडेलले भने,‘अहिले सम्म कोभिड विरुद्ध अग्रपंतिमा रहेर काम गर्ने सबै क्षेत्र र सबै निकायका काम प्रशंसनिय छन् । आगामी दिनमा पनि सबैले आफु सतर्क रहेर कोरोना विरुद्ध भूमिका खेल्नुहुनेमा आशावादी छौं ।’ सञ्चारमाध्यम, स्थानीय तह र सरोकारवाला निकायबाट स्वास्थ्य मापदण्डका बारेमा थप जानकारी गराईने प्रजिअ पौडेलको भनाई छ ।

ओखलढुंगामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले केही दिन यता पार्टी प्रवेशका कार्यक्रम गरेर जमघट बढाएका थिए । चुनावी कार्यक्रमकै झल्काे दिने उक्त कार्यको नागरिक स्तरबाटै विरोध सुरु भएको थियो । कोरोनाको कहरका बेला जिल्लामा दलहरुले खुलेआम प्रतिस्पर्धात्मक हिसाबले स्वास्थ्य सतर्कता समेत नअपनाई सरकारी निर्देशनको अवज्ञा गर्नेक्रम बढेपछि प्रमुख जिल्ला अधिकारीले शिर्ष नेता सहितको बैठक राखेर भिडभाड हुने गतिविधि नगर्न / नगराउन  सहमत गराएका हुन् ।
दलका नेताहरु आफैं बसेको निर्णय कार्यान्वयन होला वा विगतकै जस्तो प्रतिस्पर्धात्मक हिसाबले दलिय गतिविधि अघि बढ्ला ? यो सबैको चासोको विषय छ ।

जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जिल्ला बाहिर रहेका जनप्रतिनिधिमा समेत कोरोनाको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाईएको छ ।

प्रकाशित मिति : २०७७, १८ भाद्र बिहीबार ००:००  १ : ३२ बजे