काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औँ जन्म जयन्ती बुधबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। कोरोना संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम भने नहुने भएको छ । नेपाली कांग्रेसले बीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको हो ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै बीपीको जन्म जयन्ती मनाउन आग्रह गरिएको छ । केन्द्रिय तहबाट हुने ३ दिने भर्चुअल कार्यक्रमअन्र्तगत बिहीबार दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ शीर्षकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा बस्नु परेको थियो ।
भारत निर्वासनकै क्रममा २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको हो । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
विसं २०१७ पुस १ गते तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर कोइराला लगागतका नेतालाई बन्दी बनाइएको थियो । सुन्दरीजल बन्दी गृहमा राखिनुभएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित हुनुपरेको थियो ।
२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका उनको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।