२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्न सिफारिस



काठमाडौ । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको सोमबार बसेको बैठकले प्राधिकरणको अवधि एक वर्ष थप्न सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

थपिएको अवधिमध्ये २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका काम पूरा गर्ने त्यसपछि बाँकी अवधिमा लेखापरीक्षण, फरफारक सकेर सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी जिम्मेवारी र पुनर्निर्माणका दस्तावेज हस्तान्तरण गर्ने योजना रहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बताए।


निर्देशक समितिको बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी मौजुदा बजेट योजना परिमार्जन गरी ४ खर्ब ८८ अर्बको संशोधित बजेट र कार्यक्रम स्वीकृत गरेको ज्ञवालीले जानकारी दिए।

यसअघि २०७६ पुस २८ गते बसेको निर्देशक समितिको १६ औं बैठकद्वारा गठित कार्यदलबाट पेस भएको प्रतिवेदन सदर गर्दै समितिले प्राधिकरणको समय थप एवं बजेट कार्यक्रममा परिमार्जनको निर्णय गरेको हो।

बैठकले पुनर्निर्माण प्राधिकरणको क्षेत्रगत वित्तीय योजना परिमार्जन, संगठनात्मक संरचना परिमार्जन, निजी आवास पुनर्निर्माणको समयसीमा, पुनर्निर्माणका बाँकी कार्य हस्तान्तरण गर्ने निकाय र प्राधिकरणको समयसीमाबारे प्रस्ताव तयार पार्न प्रमुख कार्यकारीको संयोजकत्वमा विभिन्न सम्बन्धित मन्त्रालयका सचिवहरू सदस्य रहेको कार्यदल गठन गरेको थियो।

प्रकाशित मिति : २०७७, ७ आश्विन बुधबार ००:००  ११ : १७ बजे