२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं आयो, रौनक आएन



दशैं नेपालीहरुले महान पर्वका रुपमा मनाउने चाड हो । दशै आएसँगै सबैको घर र मनमा खुसी छाउने गर्छ । तर यो वर्ष दशैं घरआँगनमै आइपुग्दासमेत नागरिकमा विगतको जस्तो उत्साह र उमंग छैन ।

घटस्थापनामा राखेका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको निलो आकाश अनि उडेका चङ्गाले दशैंको स्वागत गरिरहेका छन् । शरद ऋतुको यो मौसमले दशैंलाई स्वागत गरे पनि आम नागरिकले भने मनैदेखि दशैं भित्राउन सकिरहेका छैनन् ।

घटस्थापना देखिनै विगतका वर्षहरुमा गाउँहरु दशैंमय बन्थे । लिंगे र रोटे पिङको मच्चाई, मेला, जात्रा र शक्तिपिठहरुमा हुने जाग्रमले दशैं स्वागत गरिरहेको हुुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिन सम्म नभेटेकाहरु भेटिन्थे । बसाइ सरेर गएकाहरु दशैंको मौका पारेर गाउँ फर्किन्थे । एक अर्कामा खुसी साटासाट गर्थे । पर्यटकीय स्थलहरु भरिभराउ हुन्थे । बजारका पसलहरुमा किनमेल गर्नेको भिड हुन्थ्यो । दशैंमा एकअर्काको घरमा जाने मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यो वर्ष त्यस्तो केही छैन । ‘अरु बर्ष दशैं खुुब रमाईलो हुुन्थ्यो । यो वर्ष त कोरोनाका कारण जताजतै सुनसान छ । क्यालेण्डरमा बाहेक दशैं कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजेपनि सकिँदो रहेनछ ।’ धेरैले यहि भनिरहेका छन् ।

कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास अर्कोतिर रित्तो गोजी । यहि कारण घरबाहिर भएकाहरु घर फर्किन सकेका छैनन् । विगतका वर्षहरुमा जो जहाँ भएपनि दशैंमा घर आउने चलन हुुन्थ्यो यसवर्ष ठिक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दशैं मनाउने तयारीमा छन् । घरमा वृद्ध बुबा आमा हुनेहरु आर्शिवाद लिन जाने रहर हुँदा हुँदै पनि हाम्रो आफ्नै कारण घरमा कोरोनाको जोखिम हुने डरले योे वर्ष घर फर्किएनन् ।

समुुदाय स्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्राय बन्द छन् । शहरबाट गाउँ आएकाहरु होमक्वारेन्टाइनमा बसेका छन् ।


सरकारले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । स्थानीय तह र प्रशासनले जिल्ला जिल्लामा विशेष सुरक्षा योजना लागु गरेका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका सहितका स्थानीय तहले दशैंमा पिङ खेल्न प्रतिवन्ध लगाएका छन् । कोरोना फैलिने डरले जमघट हुने सबै क्रियाकलापमा रोक लगाइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी बताउँछन् । बाहिरबाट गाउँ आएकाहरु र गाउँमै हुनेहरु भेटभाट हुने थलोका रुपमा पिङ, मेला, खेलकुद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउनुपरेको स्थानीय सरकारका प्रमुखहरुको तर्क छ ।
माइत मावला र ससुराली टिकाथाप्न जानेहरु यसवर्ष नजाने योजनामा छन् । कोशेली लिएर आउँछन् भन्ने पाहुुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रास छ । त्यसैले पनि पाहुुना स्वागत गर्न नागरिक त्यति आँतुर छैनन् । जति विगतमा हुन्थे ।


कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए । दशैंका लागि चैत बैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपाली एक सुको कमाउन पाएनन् भएको पनि बचाउन सकेनन् ।

चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोर परारको जस्तो किनमेल गरेर र हर्सोल्लासका साथ दशैं मनाउने अवस्था छैन । कोरोनाको त्रासका कारण मात्रै होइन, यसपटक दशैं पैसा नभएकाले पहिले जस्तो हुने अवस्था छैन ।

विगतमा घरमा सिंगै खसी ढाल्नेहरु यो वर्ष धार्नीमा मासु जोखेर ल्याउन बाध्य छन् । नयाँ लुुगा अनिवार्य मान्नेहरु पुुरानाफाटामै रमाइरहेका छन् ।

मनखुसी भए धन नभएपनि ऋण काडेर दशैं मनाउन तम्सिने नेपालीहरु यो वर्ष दशैं जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन् ।

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसले यतिबेला फुर्सदमा छन् । पसल खाली खाली छन् । पसल खाली भएसँगै काठमाडौंमा व्यवसाय गर्दै आएका ओखलढुंगाका सन्तोष बस्नेतको मन पनि रित्तो छ । ‘व्यापार व्यवसाय सोचेजस्तोे छैन । दशैं लागेको जस्तो त होइन सामान्य अवस्थाको जत्तिको पनि रौनक भएन ।’ उनी भन्छन्,‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । यो वर्ष स्वस्थ रहनसकियो भने अर्को दशैंमा रमाइलो गर्नुुपर्छ ।’ घर बाहिर निस्कन नै डरमर्दो अवस्था छ । साथीभाई भेटिए पनि टाढै बसेर हेराहेर गर्ने मात्रै परिस्थिती छ । खुसीयाली मनाएर रमाउने अवस्था छैन ।

दैनिक ज्याला मजदुरी गर्नेहरु अहिले पनि कस्ले खाना बाँड्छ, र खान पाइएला भन्ने स्थितिमा छन् । कोरोनाको संक्रमण देखिना साथ सरकारले लकडाउन गरेपछि राहत बाँड्नेहरु चम्किएका थिए । त्यो बेला १० केजी चामल भएपनि विपन्नलाई बाँड्नेहरुले दशैंमा कुनै कार्यक्रम ल्याउन सकेनन् । विशेषत स्थानीय तहले राहत वितरणमा लाखौं खर्च विवरण निकाले तर दशैंका बेला सानो सहयोगको कार्यक्रम पनि ल्याउन सकेनन् भन्ने धेरैको गुनासो छ ।

जो जहाँ जुन अवस्थामा छौं त्यहि बसौं
जो जस सँग जे छ त्यसैमा रमाऔं
महामारीका बीच मनाउने तयारी हुँदै गरेको 
दशैंको सबैलाई शुुभकामना

प्रकाशित मिति : २०७७, ९ कार्तिक आइतबार ००:००  ११ : २६ बजे