२०८१, ७ मंसिर शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट ‘पर्यटन गाउँ’ को खोजिमा प्रदेश–१ सरकार



संघीय सरकारले देशका सातवटै प्रदेशमा ‘पर्यटन गाउँ’ घोषणा गराएर प्रवद्र्धन गर्ने योजना बनाएपछि प्रदेश–१ सरकार उत्कृष्ट गाउँको खोजीमा छ । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ग्रामीण पर्यटनको विकासका लागि सातवटै प्रदेशमा एक–एक उत्कृष्ट ‘पर्यटन गाउँ’ घोषणा गराएर पर्वद्धन गर्ने परिपत्र तयार गरेपछि प्रदेश–१ सरकारले आफ्नो क्षेत्रमा पर्ने उत्कृष्ट गाउँको खोजी गर्न थालेको हो ।
संघीय सरकारको पर्यटन मन्त्रालयले गरेको परिपत्रको मापदण्डअनुसार उत्कृष्ट ‘पर्यटन गाउँ’बारे आधारसहित जानकारी गराउन मातहतका सबै पालिकाहरूलाई परिपत्र गरिसकेको प्रदेश–१ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका पर्यटन शाखाका अधिकृत शम्भुप्रसाद साहले बताए ।
पालिकाहरूले मापदण्ड अनुसारको उत्कृष्ट दाबी गरेर पठाएका गाउँमध्ये सबैभन्दा उत्कृष्ट गाउँलाई प्रदेश–१ सरकारले प्रदेशको सबैभन्दा राम्रो ‘पर्यटन गाउँ’ घोषणा गरेर पर्वद्धनका लागि संघीय सरकारलाई सिफारिस गर्नेछ ।

अधिकृत साहका अनुसार सातवटै प्रदेशमा एक–एकवटा नमुना ‘पर्यटन गाउँ’ घोषणा गरेर स्तरोन्नति गर्नका लागि संघीय सरकारले चालू वर्ष ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट सातवटै प्रदेशका उत्कृष्ट ‘पर्यटन गाउँ’लाई विभाजन गरेर पहिलो चरणको स्तरोन्नतिका लागि पठाउने संघीय सरकारको तयारी छ ।

परिपत्रअनुसार यही पुस ०७७ भित्र सबै प्रदेशले आ–आफ्नो प्रदेशको सबैभन्दा उत्कृष्ट पर्यटकीय गाउँ पहिचान गरेर सिफारिस गरेर पठाइसक्नुपर्नेछ ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पर्वद्धन शाखा अधिकृत रचना प्रधानका अनुसार सातवटै प्रदेशमा उत्कृष्ट घोषणा भएका ‘पर्यटन गाउँ’को स्तरोन्नतिका लागि नेपाल सरकारको पर्यटन मन्त्रालय र पर्यटन विभागले गुरुयोजना र विस्तृत परियोजना निर्माण गर्नेछन् ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  ११ : १८ बजे