२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संकटकाल घोषणा गरेको क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग



गुल्मी। गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ ।

नगरप्रमुख खिलध्वज पन्थीले शनिबार बिहान पत्रकार सम्मेलन आयोजना गरी यस्तो निर्णय सुनाएका हुन्। गुल्मीको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुखको भनाइ छ ।

क्याम्पस सञ्चालक समितिले साउनको अन्तिम साता आर्थिक संकटकाल घोषणा गरेको थियो।  यस संकटलाई समाधान गर्ने उद्धेश्यले नगरपालिकाले क्याम्पसलाई सहयोग गर्न लागेको हो। ‘गुल्मीको समुन्नतिको आधार रेसुंगा क्याम्पस नै हो।’ पत्रकार सम्मेलनमा पन्थीले भने, ‘नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ।’ क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट अगाडि बढाउन नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले बताएका छन्।

 ‘राजनीतिक पार्टीमा क्रियाशील प्राध्यापकहरु छन्। उनीहरुको कटौतीका विषयमा सोधिएको प्रश्नमा नगरपालिका प्रमुख पन्थीले क्याम्पसमा जुनसुकै पार्टीमा आस्थावान वा क्रियाशील भएका प्राध्यापक भएपनि आफू त्यस विषयमा निर्मम भएर लाग्ने बताए। आफू नगरप्रमुख मात्र नभइ नेपाली कांग्रेसको जिल्ला सभापति पनि भएको उल्लेख गर्दै उनले कुनै राजनीतिक पार्टी, नातागोता, इष्टमित्र र कुनै बहाना नदेखाइ प्राध्यापक र कर्मचारी कटौतीमा सहयोग गर्ने संकेत गरे।

साथै नगरपालिकाले मात्र नभइ जिल्लाको सबै पालिकाका प्रमुखहरुलाई  सहयोगका लागि अपिल र आग्रह गरिएको नगरप्रमुख पन्थीले बताए। वास्तविक अवस्था सञ्चालक समितिले बाहिर ल्याएको भन्दै पन्थीले अब दीर्घकालीन समाधान सबै मिलेर गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०७९, १८ भाद्र शनिबार ००:००  १२ : ४३ बजे