तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार र दुध उत्पादन गर्ने किसानलाई १० रुपैंया अनुदान दिने भएको छ । कृषिमा आधुनिकिरण र पशुपालनमा व्यवसायीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो निती ल्याएको हो ।
पछिल्लो समय देशभर हाते ट्रयाक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । म्याग्दे गाउँपालिकाले गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरिने उनको भनाई छ ।
गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।
त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने निती ल्याएको हो ।
सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।