२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्जक माधव न्यौपानेले ल्याए अस्ट्रेलियाबाटै ‘हरियो डलर’



काठमाडौँ । लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव न्यौपानेले पनि तीज गीत बजारमा ल्याएका छन् । अस्ट्रेलिया रहेका माधव न्यौपानेको गीतमा माइती जान नपाएकी चेलीको वेदना भन्दा पनि अस्ट्रेलिया जान नपाएका युवाको कथा व्यथालाई समेटिएको  छ । केही वर्षयतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । प्लस टु सकेर वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको फेसन नै बनिसकेको  छ।

तीमध्ये धेरैको गन्तव्य अस्ट्रेलिया बन्दै आएको छ । यसैलाई व्यंग्य गर्दै गायक तथा सर्जक माधव न्यौपानेले तीज गीत बनाएका छन् । उनले विदेशको भूत हरियो डलर नाम दिएका छन् । गीतमा युवा युवतीले अस्ट्रेलिया जाने र हरियो डलर कमाउने सपना बुन्छन् । समुद्रको किनारमा घुम्दै  सेल्फी खिच्ने र रमाउने योजना गीतको कथामा छ । नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा छायांकन गरिएको भिडयोले नेपालका युवापुस्ताको चाहनालाई प्रस्ट झल्काउँछ । 

 खुमन अधिकारी र प्रीति आलेको स्वरमा रहेको गीतको लय गायक अधिकारीकै हो । गीतमा शब्द माधव न्यौपानेको छ, भने अभिनय पनि उनी आफैँले गरेका छन् । साथमा प्रतीक्षा अधिकारी पनि छिन् । उनीहरू भएको भिडियो अस्ट्रेलिया खिचिएको हो । यता नेपालमा खिचिएको भिडियोमा भने महेश खड्का  सृष्टि खड्काको अभिनय छ । एमएम इन्टरटेनमेन्ट इभेन्टबाट हालै सार्वजनिक गीतको संयोजक कृष्ण बिक हुन् । अडियो मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । अस्ट्रेलियामा सिनेमाग्राफर श्री पराजुली हुन् । भिडियोको छायाङ्कन सुरेश श्रेष्ठ, निर्देशन प्रकाश भट्ट र सम्पादन विष्णु शर्माले गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा भाइरल भएको छ । ‘सिड्नीको सिटीमा सेल्फी खिचौँला, मेलबर्नको सहरमा टिकटक बनाउँला, रमाउँला जमौला, हरिया डलर कमाउँला’ गीतको यो भागमा टिकटकमा पनि धेरैले अभिनय गरेको देख्न सकिन्छ । यसअघिका सालमा पनि तीज गीत निकालेका सर्जक माधव न्यौपाने भन्छन् ‘ तीज गीत असाध्यै मन पर्छ,’ सर्जक माधव न्यौपाने, ‘त्यसैले वर्षेनी गीत निकाल्छु ।’

एक दर्जनभन्दा बढी गीत निकालिसकेका माधव न्यौपाने समाजमा देखिएका यथार्थ र कटु सत्यलाई गीतको माध्यमबाट बाहिर ल्याउने सर्जक मानिन्छन् । उनका यसअघिका १४ अञ्चल ससुराल, बनको न्याउली, लकडाउनको डोरी, ढुकुर ढुकुरनीलगायत गीतले चर्चा कमाएका थिए । ‘गीत भनेको लोकलयमा आधारित, नेपालीपन र नेपाली परिवेश झल्किने हुनुपर्छ,’ सर्जक माधव न्यौपाने भन्छन्, ‘त्यसैले मेरा गीत धेरै रुचाइएका हुन सक्छन्  ।’ 

भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=WVffhfoqMKs

प्रकाशित मिति : २०७७, २८ असार आइतबार ००:००  ३ : ४९ बजे