काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए । उनका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुका बिरामी बढी पाइएको छ ।
यस्तै, तारकेश्वरले डेङ्गु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ । सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्थासमेत गरेको छ । यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेङ्गु परीक्षण गर्न सबै वडाका स्वास्थ्यचौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताए ।
डेङ्गुका बिरामीलाई सबै वडाका स्वास्थ्यचौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेङ्गुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ । सीमित स्रोत र साधनका बीच डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ ।