१०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।
आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो। त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरेका हुन्।
जोशीका आत्मकथा लेखक गिरीश गिरीले आफ्नो ट्विटरमार्फत् अन्त्येष्टिको तस्बिर सार्वजनिक गरेका छन्।
उनका अनुसार जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएका थिए। उक्त क्षण जोशीका दुई छोरा र आफू गरी तीन जना मात्र उपस्थित रहेको गिरीले उल्लेख गरेका छन्।
‘पुरानो कागज असाध्यै पक्का किसिमको भएकाले बाल्न कठिन भएको थियो,’ गिरीले ट्विटरमा लेखेका छन्, ‘खरानीलाई बागमती नदीमा सेलाइएको थियो।’
अन्त्येष्टि निम्ति जन्मकुण्डली जलाउनुअघि त्यसका प्रतिरूप निकालेर सुरक्षित राखिएको उनले लेखेका छन्।
जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।
उनले २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहवरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।
उक्त कार्यक्रममा जोशीले भनेका थिए, ‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं।’
आइतबार उनको निधन भएपछि बुवाको शरीर अस्पताल प्रशासनले के-कसरी राख्ने हो भन्नेबारे उनका छोराहरूले चिन्ता पनि व्यक्त गरे। अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले आफूहरूले सत्यमोहनको शरीर संरक्षण तथा अध्ययन गर्ने ढाँचा पहिल्यै तयार पारिसकेको बताएपछि परिवार विश्वस्त भएको थियो।
अस्पतालले जोशीको शव सुरक्षित राख्न इन्जेक्सनमार्फत् नसाबाट रसायन हालेको छ। उक्त रसायन शरीरमा पसेपछि २५-३० वर्षसम्म केही नहुने अस्पतालले जनाएको छ। त्यसका लागि चिस्यान पनि चाहिँदैन।
किस्ट अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शव संरक्षण गरेर प्रदर्शनका लागि नराखिने बताएका छन्।
‘राजनीतिक व्यक्तिको शव राखेजसरी राख्ने होइन। हाम्रो उद्देश्य भनेको उहाँको शरीर अध्ययन गर्ने हो,’ उनले भने, ‘हामीले संरक्षण गरिसकेका छौं। संग्रहालयमा राखेर अरूलाई देखाउने भन्ने होइन।’
शवलाई अस्पतालले सदाका लागि संरक्षण गरेर राख्ने पनि होइन। अध्ययन गर्नुका कारणहरू पत्ता लागेपछि दाहसंस्कार आफ्नै हिसाबले गरिने अस्पतालले जनाएको छ।