२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जवानी फर्काउने जडीबुटी !



आयुर्वेदको विकासको प्रारम्भिककालमा एक अद्भुत वैद्य (चिकित्सक) थिए अश्विनी कुमार । उनले एक यस्तो ओखती तयार गरे, जसको सेवनबाट ‘च्यवन’ नामक ऋषिको जवानी फर्किएको कथन छ । भनिन्छ, महर्षि च्यवन त्यसबेला एकदमै पाको भइसकेका थिए ।

अश्विनीकुमारले तयार गरेको उक्त ओखतीको मुख्य घटक थियो अमला । प्रकृतिको यो भण्डारमा अमलालगायत यस्ता केही जडीबुटी छन्, जसले बुढ्यौलीको गति धीमा बनाउने क्षमता राख्छ । मान्छेलाई जवान राख्न मद्दत गर्छ ।

यतिबेला अमलाको मौसम छ । आयुर्वेदमा अमलाको खास महत्व छ । आयुर्वेदले अमलालाई एउटा रसायन भनेर वर्णन गरेको छ । ताजा अमलामा भिटामिन सी प्रचूर मात्रामा हुन्छ । यसैकारण अमला औषधीय गुणले भरिपूर्ण फल मानिन्छ, जसले थुप्रै रोगबाट शरीरलाई बचाउने क्षमता राख्छ ।

अमलामा भिटामिन सी, ट्यानिन्स, पोलिपेनोल, फाइबर, खनिज, प्रोटिन, एमिनो एसिड र भरपुर एन्टी अक्सिडेन्ट पाइन्छन् । खासगरी एन्टी अक्सिडेन्ट त्यही पोषक तत्व हो, जसले फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ । फ्रि रेडिकल्सले शरीरका कोषहरुलाई नष्ट गर्छ । अमलामा पाइने पोषक तत्वले छालालाई पनि जवान राख्छ । यसैले अमलालाई एकदमै प्रभावकारी ओखती मानिन्छ, जसले प्राकृतिक रुपमै बुढ्यौली रोक्ने क्षमता राख्छ ।

एन्टी अक्सिडेन्टको खास विशेषता के पनि भने यसले बुढ्यौली हुने प्रक्रियालाई धीमा बनाइदिन्छ ।

अमला भिटामिन सीको ठूलो स्रोत हो । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसबाहेक अमलाले मधुमेह, मूत्ररोग, रक्तश्राव आदि रोक्ने काम गर्छ ।

अमला जस्तै अर्को प्रभावकारी जडिबुटी हो, यार्सागुम्बा । यो वनस्पति र जीवनको अद्भूत संयोजन मानिन्छ । वनस्पतिविद्हरुका अनुसार यो ६ महिना कीरा र ६ महिना वनस्पति भएर रहन्छ । यसलाई कामोत्तेजक र स्मरण शक्तिवद्र्धक ओखतीको रुपमा प्रयोग गरिएको विभिन्न अध्ययनमा उल्लेख छ ।

यार्सागुम्बा पनि एन्टी अक्सिडेन्टको भण्डार हो । यही गुणका कारण यार्सागुम्बाले शरीरलाई जवान राखिरहन सहयोग गर्छ । खासगरी यार्सागुम्बालाई यौन शक्तिवद्र्धक र सर्वगुण सम्पन्न टनिकको रुपमा लिइन्छ ।

यार्सागुम्बाले वीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ राख्न अण्डा र अन्डाशयको खराबी कम गर्छ । यार्सागुम्बालाई सामान्यतः कमजोरी, थकान र उमेरसँग जोडिएको नपुंसकता भएको अवस्थामा खानका लागि सिफारिस गरिन्छ । यसले अक्सिडेटिभ तवनालाई रोकेर आयु लम्बाउने काम गर्छ पनि भनिएको छ ।

त्यसो त खोकी, दम, क्षयरोग, अनिद्राको समस्यामा पनि यार्सागुम्बाको सेवन उपयोगी हुने बताइन्छ । स्नायुसम्बन्धी रोग, अनिद्रा, मांसपेशीको दुखाइ, श्वासप्रश्वास सम्बन्धी समस्या कम गर्न पनि यार्सागुम्बा सेवन गर्न सकिन्छ ।

शिलाजीत हिमालय क्षेत्रमा पाइने एकदमै अमूल्य र दुर्लभ वस्तु हो । यो धेरै औषधीय वनस्पतिहरुको विघटनपछि तयार हुन्छ । शिलाजीत वास्तवमा खनिज पिच हो, जुन हिमालयमा अवस्थित चट्टानहरुबाट निस्केको ह्युमस र कुहिएको बिरुवाको अवेशषबाट बन्छ ।

पुरातन आयुर्वेदिक शास्त्रमा जेठ र असार महिनामा सूर्यको प्रत्यक्ष किरणले पहाडका तहहरु पग्लिएर शिलाजीत भनिने (र्‍याल जस्तो अर्थ ठोस) तरल पदार्थ निस्किने उल्लेख छ ।

यो प्रकृतिको अद्भूत उत्पादन हो, जसले शरीरका तन्तुहरुको मर्मत र पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा भएको शक्तिशाली एन्टी अक्सिडेन्टले कोषिय क्षतिबाट जोगाउँछ । साथै छालाको तन्तुमा देखिने बुढ्यौली संकेतलाई पनि कम गर्छ । यसमा पाइने फुलभिक एसिडको उपस्थितिले शरीरलाई फ्रि रेडिकल क्षतिबाट जोगाउँछ । साथै एन्टी अक्सिडेन्ट प्रशस्त पाइने भएकाले हड्डीमा क्याल्सियम सन्तुलित राख्छ ।

अश्वगन्धालाई आयुर्वेदमा महत्वपूर्ण मानिन्छ । यसको जराबाट घोडाको गन्ध आउने भएकाले नै यसलाई अश्वगन्ध भनिएको हो । अश्वगन्धले शरीरमा क्षय भएका धातुहरु (रस, रक्त र मासु) आदिलाई वृद्धि गरी वृद्धावस्थामा पुनः जवान राख्न सहयोग गर्छ । अश्वगन्धका अनगिन्ती फाइदा छन् । तर जथाभावी खाँदा त्यसले अरु स्वास्थ्य समस्या निम्त्याउँछ ।

अश्वगन्धले यौन क्षमता बढाउने, स्नायुहरुलाई पोषण प्रदान गर्ने र यसका प्रक्रियालाई सुचारु राख्ने काम गर्छ । चिन्ता, नैराश्यता कम गर्न पनि यो निकै उपयोगी हुन्छ । अश्वगन्धले यौन र वीर्य दुर्बलता र नपुंसकता हटाउन सहयोग गर्छ ।

टेलोमेर छिटो बुढ्यौली हुनसँग सम्बन्धित छ । विभिन्न अध्ययन अनुसन्धान अनुसार अश्वगन्धाले टेलोमेर संरचनाको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

(आयुर्वेद चिकित्सक डा. सृष्टि श्रेष्ठ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरकी कार्यालय प्रमुख समेत हुन् ।)

मनिषा थापासँगको कुराकानीमा आधारित

प्रकाशित मिति : २०७९, २० कार्तिक आइतबार ००:००  ४ : २७ बजे