२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको जनसंख्याभन्दा दोब्बर बढी बैंक खाता



काठमाडौं । नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ठूलो देखिएको छ । अहिले नेपालको अर्थतन्त्र ४८ खर्ब रुपैयाँ हाराहारीमा छ । बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५२ खर्ब ५४ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार १०६ प्रतिशत रहेको छ । जीडीपीको ९३.९७ प्रतिशत निक्षेप ‘क’ वर्गका वाणिज्य बैंकमा रहेको छ । ‘ख’ वर्गको विकास बैंकमा जीडीपीको १०.६८ प्रतिशत निक्षेप रहेको छ ।

यस्तै ‘ग’ वर्गको फाइनान्स कम्पनीमा २.१७ प्रतिशत निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको अधिकांश निक्षेप मुद्दतीमा रहेको छ । करिब ६० प्रतिशत निक्षेप मुद्दती रहेको हो । बचत निक्षेप २०.६५ प्रतिशत छ । यस्तै कल डिपोजिटको अंश ६.२६ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा नेपालको जनसंख्याभन्दा दोब्बर बढी खाता रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । नेपालमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका ६० बैंक तथा वित्तीय संस्थामा ४ करोड ७४ लाख २४४ निक्षेप खाता रहेको छ ।

यस्तै ऋण खाता १८ लाख २७ हजार वटा र ४ हजार ६९६ वटा एटीएम मेसिन राष्ट्र बैंकले जनाएको छ । डेबिट कार्ड प्रयोगकर्ता १ करोड १७ लाख छन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरु २ लाख ६९ हजार पुगेका छन् ।

प्रकाशित मिति : २०७९, ४ पुस सोमबार ००:००  ६ : ०० बजे