२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘लकडाउन’ खुल्यो, भदौ १ देखि लामो दुरीका सवारीसाधन चल्ने



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ गतेदेखि गरेको लकडाउन चार महिनापछि अन्त्य भएको जानकारी दिए ।

सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको छ । साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो । यस्तै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ ।

स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यस्तै सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने अझै नखुल्ने भएका छन् । पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि लकडाउन हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार ००:००  २ : १८ बजे