
काठमाडौं । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले तयारी अगाडि बढाएको छ । बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको हो ।
असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।
बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।