अल्कोहल स्वास्थ्यका लागि हरेक दृष्टिकोणले हानिकारक छ। रक्सी कम्पनीले आफ्नो लगानीमा नियोजितरूपले गरेका अनुसन्धान छोडेर अन्य कुनै पनि पियर रिभ्युड रिसर्चले सोमरसलाई स्वास्थ्यबद्र्धक पेय मान्दैन। खराब जान्दाजान्दै पनि नेपालमा सोमरस सेवनकर्ताको संख्या दिनानुदिन बढ्दो छ। साथीभाइको करकाप तथासोसियल ड्रिंकर्सका रूपमा पहिलोपटक जाँड खाएका व्यक्ति पछिल्लो दिनमा रक्सी नभइ नहुने, अल्कोहलिज्म भई परिवार तथा समाजकै लागि बोझ भएका देखिन्छ। त्यस्तै, रक्सी खराब हो भन्ने जानेर धेरै प्रयास गर्दासमेत आदत छाड्न नसकी दिक्क मान्नेहरूको संख्या पनि कम छैन। अल्कोहलको खराब पाटो अनि रक्सीबाट छुटकारा पाउन खोज्ने व्यक्तिलाई सहायक सिद्ध होओस् भन्ने उद्देश्यले भएका अन्वेषण तथा विशेषज्ञ रायको प्रस्तुति यो आलेखको लक्ष्य रह्यो।
रक्सीले कलेजो खराब पार्छ भन्ने आममानिसको बुझाइ देखिन्छ। तर अल्कोहलले लिभरलाई मात्र होइन, शरीरका प्रत्येक अंग तथा तन्तुलाई जीर्ण बनाउँछ भन्छन् मेडिकल सिटी ट्रान्सप्लान्ट इन्स्टिच्युट डालास, टेक्सासका लिभर ट्रान्सप्लान्ट विशेषज्ञ डा. के भी नारायनन मेनन। रक्सीबाट संसारलाई मुक्ति दिन सक्ने हो भने हेल्थ केयर सिस्टमको चाप झण्डै आधा घट्ने ठान्छन् विज्ञहरू। अब रक्सीको स्वास्थ्य असर हेरौँ।
कुनै पनि टक्सिन जिउमा पस्दा अथवा बायोलोजिकल प्रक्रियाका कारण खराब तत्व शरीरमा बन्दा विषादीलाई निष्क्रिय पार्ने काम कलेजोको हो। रक्सीले शरीरका कोस (सेल) लाई तत्कालै असर पार्ने भएकाले कलेजोले अल्कोहललाई विषाक्त पदार्थका रूपमा चिन्छ। अनि, उच्च प्राथमिकताका साथ अल्कोहललाई निष्क्रिय पार्छ। तसर्थ, अन्य खानासँगै रक्सी खाँदाको अवस्थामा समेत शरीरले सर्वप्रथम अल्कोहलको मेटाबोलिज्म थाल्छ। कार्बोहाइड्रेट, प्रोटिन तथा फ्याट जस्ता खाद्य पदार्थ शरीरमा भण्डारण गर्न सकिने तर अल्कोहल स्टोर गर्ने शारीरिक पद्धति नभएकाले रक्सीलाई तुरुन्त पचाउन आवश्यक हुन्छ। लिभरले विषाक्तजन्य अल्कोहललाई अक्सिडेसन विधिमार्पmत पानी र कार्बन डाइअक्साइड ग्यासमा रूपान्तरण गर्छ। रक्सीको खराब असरबाट हामी जोगिन्छौँ।
शिवरात्रिका दिन राष्ट्रपति तथा उच्च पदाधिकारीले पशुपतिको दर्शनमा उच्च प्राथमिकता पाएका कारण घण्टौँ लाइनमा बस्ने दर्शनार्थीले शिवलिंगमा ढोग्न अत्यधिक कुर्नुपरेझै पाचन प्रक्रियामा रक्सीले उच्च प्रश्रय पाउँदा फ्याटको अक्सिडेसन ओझेलमा पर्छ। दैनिक अल्कोहल सेवनका लागि नभइ कलेजो यदाकदा उत्पन्न हुने विषादीलाई निस्तेज गर्न बनेका कारण दैनिक रक्सी सेवन गर्ने व्यक्तिको लिभर लखतरान हुन्छ, नियमितको काम गर्नसमेत कठिन हुन्छ। अत्यधिक कार्यबोझका कारण दैनिक अल्कोहल सेवन गर्ने व्यक्तिको कलेजोमा जम्मा भएका बोसो पच्न पाउँदैन, मानिस फ्याट्टि लिभरको सिकार हुन्छ। तर यो लक्षणको राम्रो पाटो भनेको फ्याट्टि लिभरका रोगीले रक्सी पिउन छाड्नेबित्तिकै कलेजोमा रहेको बोसोको अक्सिडेसन सुरु हुने भएकाले आदत सुधारेको ३–४ महिनापछि नै व्यक्ति सामान्य बन्न पुग्छ। तर फ्याट्टि लिभर भएको व्यक्तिले आफ्नो बानी तुरुन्त नसुधारे लिभर फाइब्रोसिस भई अन्ततः कलेजो नै काम नलाग्ने अवस्थामा पुग्छ। कलेजो पूर्ण विकामे भएपछि लिभर ट्रान्सप्लान्टको चरणमा पुग्छ। लिभर ट्रान्सप्लान्ट खर्चिलो हुनुका अतिरिक्त कलेजो फेरेका व्यक्तिको आयु सरदर ५ वर्ष पनि नहुने भएकाले रक्सी त्यागी स्वस्थ बन्न सल्लाह दिन्छन् चिकित्सक डा. मेनन।
नियमित सोमरस सेवन गर्ने व्यक्तिको पाचन प्रणालीमा रहेका असल ब्याक्टेरियालाई खराब चरित्रका सुक्ष्माणुले प्रतिस्थापन गर्छ। असल जीवाणुले पाचन प्रणालीको सुधारमार्फत हामीलाई विभिन्न रोगबाट जोगाउँछ। तर रक्सी सेवनका कारण उत्पन्न खराब ब्याक्टेरिया आन्द्राको परत पार गरी कलेजोलगायतका अन्य भाइटल अर्गेनमा पुग्छ अनि महत्वपूर्ण अंगलाई आघात पुर्याउँछ। त्यस्तै नियमित रक्सी खाने व्यक्ति कार्डियो मायोप्याथी भन्ने समस्याको सिकार हुने भएकाले व्यक्तिको मुटु कमजोर बन्छ। रक्सीकै कारण मुटुको चाल अनियमित बन्न पुग्ने अनि व्यक्ति अन्ततः उच्च रक्तचापको सिकार हुन्छ। सोमरस पेन्क्रियाटाएटिसको समेत कारक भएकाले रक्सीका कारण पाचनमा असर पार्नेदेखि चिनी रोगसम्म लाग्न सक्ने भयो। साथै, प्रकाशित अनुसन्धानहरूले मदिरा सेवन मुख, घाँटी, कलेजो, स्तन, भोजन नलीलगायतका क्यान्सरको उत्पत्तिको जड देखायो। विभिन्न रोगको कारक पुष्टि भएको अल्कोहलको सेवन गर्ने व्यक्तिलाई सामान्य मानिसको तुलनामा अत्यधिक रुघाखोकी, ज्वरोलगायतका धेरै किसिमका सामान्य शारीरिक समस्याले सताएको देखियो। इम्युन सिस्टमलाई रक्सीले कमजोर बनाउने भएकाले अमलीहरूलाई सधैँ केही न केही समस्या देखिने हो। तसर्थ, मदिरा जस्तो बहुआयामिक समस्याको जडको व्यवस्थापन जरुरी रह्यो। समस्याको समाधान भनेको रक्सी नखानेले पिउन सुरु नगर्ने अनि आदत परेकाले अमलबाट मुक्ति पाउने हो। तर अल्कोहलको सेवनमा ब्रेक लगाउने काम त्यति सजिलो नभएकाले विज्ञको सल्लाह सान्दर्भिक देखियो।
दिनैपिच्छे रक्सी चाहिने, नशाका कारण दैनिक पारिवारिक तथा सामाजिक कार्यतालिका बिर्सने, घरायसी खर्चका लागि छुट्याएको पैसा जाँडमा खर्चने, अल्कोहललाई सधैँ प्राथमिकतामा राख्ने, सोमरस सेवन गरी सडकमै सुत्नेसम्मको अवस्थामा पुगेका व्यक्तिलाई अल्कोहलिज्म भनिन्छ। नियमित रक्सी पिउने तर मैले फलानो दिन पिइन, मंगलबार अथवा एकादशीमा खान्न भनेर आफूलाई बेग्लै दर्जा देखाउन खोज्ने मानिससमेत अल्कोहलिज्मको सिकार भएको ठान्छन् संयुक्त राज्य अमेरिकाको ओहायोस्थित लुथरन हस्पिटलमा रक्सी तथा चुरोटका अमलीलाई विशेषज्ञ परामर्श दिँदै आयका चिकित्सक डा. डेभिड स्ट्रिम। अल्कोहलिज्मको श्रेणीमा पुगेका अमलीले जति नै प्रयास गरे पनि अल्कोहल विमुख हुन नसक्ने अनि कदाचित उनीहरूले रक्सी छोडन खोजिहाले भने पनि विभिन्न किसिमका शारीरिक समस्या भित्रनुका अतिरिक्त व्यक्ति मानसिक रोगको सिकार भई स्वयम् तथा अर्कालाई आघात पुर्याउन सक्ने ठान्छन् डा स्ट्रिम। तसर्थ, रक्सीलाई जीवनको सहयात्री बनाइसकेका मानिसले अमलबाट मुक्ति पाउन चिकित्सकीय परामर्श अपरिहार्य देख्छन् उनी।
अल्कोहलिज्मको चरणमा नपुगेका तर साथी तथा आफन्त भेट्नेबित्तिकै रक्सी चाहिने, मासु पाकेपछि सोमरसको तलतल लाग्ने, घरबाहिर जाँदा मन थाम्नै नसक्ने, पार्टीमा मात्नैपर्ने अनि छुट्टीको दिन सोमरस पिउने आदत लागेका मानिसमा इच्छाशक्ति भए नशाको लत छोड्न कठिन नरहेको देख्छन विज्ञहरू। तर लामो समयदेखिको मित्रलाई बिदाइ गर्न कठिन भएझै वर्षौँदेखिको साथी मदिराको लत हटाउन गाह«ो रहेकाले दृढ इच्छाशक्ति र योजनाको दरोकार ठान्छन् परामर्शदाताहरू।
कुनै पनि बानी परिवर्तनका लागि उक्त आदत आफ्ना लागि के÷कति कारणले हानिकारक छ उक्त कुराको निर्क्याेल स्वयम्ले नै गर्नुपर्ने हुन्छ। जब व्यक्तिले रक्सी आफ्ना लागि अप्रिय भएको महसुस गर्छ तब आउँदा कदमहरू सहज बन्छन्। मदिरा छाड्ने संबन्धमा विस्तारै खोराक कम गर्दै गएर अमल छोड्न सकिँदैन बरू अल्कोहल त्याग्न एउटा मिति तोक्ने अनि उक्त तिथिमा अडिग हुनु भन्ने विज्ञ मत देखियो। रक्सीबाट मुक्ति हुने दिन निश्चय गरेपछि पिउँदाका साथी तथा नातेदार सबैलाई आफ्नो योजना बताउने अनि उक्त पुनित कार्यका लागि सहयोगको याचना गर्ने। त्यसो गर्दा उनीहरूले मदिराका लागि आमन्त्रण नगर्ने भएकाले सोसियल ड्रिंकको बाध्यता हट्छ। जसरी पेट भरिएका बखतसमेत आफूलाई मन परेको पकवानको बासनाले भोक जगाउँछ त्यसैगरी आफूलाई कुन कुराले अल्कोहल पिउन उक्साउँछ त्यसलाई पहिल्याउने अनि उक्त परिस्थितिबाट जोगिने। मानिस, स्थान तथा वस्तुले रक्सीको निकट पुर्याउने भएकाले उक्त विषयमा सजग बन्नुपर्छ।
आफूसँग वर्षौँदेखि सँगै खाने साथी, भट्टीको नजिक पुग्दा मात्न इच्छा लाग्नु स्वाभाविक रहेकाले त्यसबाट जोगिने। आउट अफ् साइट आउट अफ माइन्ड भन्ने मन्त्रलाई ध्यानमा राख्नुपर्छ। साँझमा रक्सी पिउने गरेको मानिसलाई सन्ध्याकालमा तलतल लाग्ने भएकाले इभनिंग वाक गर्ने साथीको संगत अथवा मन्दिरमा साँझको आरतीमा सहभागी हँुदा लाभ हुन्छ नै। विगतमा सोमरस सेवन गर्ने भट्टी समूहको बदला वाकिंग, बाइकिंग तथा कफी ग्रुपको सदस्यता लिँदा फाइदा हुन्छ। लामो समयदेखिको आदत छोड्दा गलत गरेँ कि भन्ने लाग्नु स्वाभाविक हुन्छ। तसर्थ, त्यस्तो अवस्थामा सोमरसका नकारात्मक पक्ष उजागर गर्ने आलेख, बहस तथा अन्य सकारात्मक सोच भएका व्यक्ति तथा समूहसँगको सामीप्यता हितकर देखियो। सबै भन्दा ठूलो कुरा अल्कोहल मेटाबोलिज्मको क्रममा विभिन्न किसिमका रासायनिक पदार्थहरू पैदा हुन्छन् अनि ती नवीन केमिकल्सहरूले शारीरिक बायोलोजीलाई प्रभावित पार्ने भएकाले लामो समयदेखि रक्सीको आदत पालेका मानिसले मदिरा छोड्दा केही समयसम्म टाउको दुख्ने, खान मन नलाग्ने, निदाउन कठिन हुने, शारीरिक कम्पन जस्ता समस्या देखिनु अस्वाभाविक होइन। त्यस्ता समस्या देखिँदा अत्तालिनुको बदला ती लक्षणहरूलाई सामान्य साइड इफेक्टका रूपमा लिनुपर्छ।
जुनसुकै ब्रान्डका भए पनि अल्कोहलले शरीरलाई हानि नै गर्छ। तर नेपाली समाजमा महँगो रक्सी खाइयो भन्ने मानिस सोमरस सेवन गर्दिन भन्ने व्यक्ति भन्दा सामाजिकरूपले प्रतिष्ठित मान्ने सोच विकास भयो। जिन्दगीभर रक्सी नखाएको मानिस मैले आजसम्म अल्कोहल खाएको छैन भन्नुपर्दा असहजता महसुस गर्छ। बिहेमा अल्कोहल नराख्ने घरबेटीलाई इन्फेरियर मान्ने सोच देखिन्छ। रक्सीलाई सामाजिक प्रतिष्ठाका रूपमा स्वीकार गरिएको अवस्थामा समाजलाई सुमार्गमा हिँडाउन सोमरस विरोधी अभियानको आवश्यकता देखियो। रक्सी नखाने व्यक्तिले गर्वका साथ अल्कोहल खान्न भनौँ अनि सराब मानव स्वास्थ्यका लागि फाइदा कारक छैन भन्ने सन्देश प्रवाहमा सबैले संलग्न होऔँ। अल्कोहल फ्रि सोबर सोसाइटीको निर्माणमा सक्ने योगदान गरौँ।