२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशको पहाडीगाउँ ठोरी : जहाँ प्रदेश सरकारले १ रुपैंया पनि बजेट हाल्दैन



सुवर्णपुर। तराई मधेशको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरी प्रदेश सरकारको उपेक्षामा परेको छ । पर्यटन, कृषि उत्पादन, उद्योग सञ्चालनलगायतको प्रचुर सम्भावना भएको ठोरी पहाडीमुलका नागरिकको बाहुल्यता रहेकै कारण मधेश सरकारको संधै उपेक्षामा परेको हो ।

स्थानीय सरकारले अनेकौं सम्भावनाका स्रोत अघि सारेर बजेट माग गरेपनि प्रदेश सरकारले बजेट नदिएको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । पहाडी समुदायका नागरिकको बसोबास रहेकै कारण मधेश सरकारले विभेद गरेको अध्यक्ष श्रेष्ठको दावी छ । ‘यहाँ प्रचुर सम्भावना छ । स्थानीय तहको मात्रै स्रोत साधानले भ्याउँदैन । संघिय अनुदानको मात्रै भर पर्नुपरेको छ प्रदेश सरकारले ठोरी चिन्दैन ।’ गाउँपालिका अध्यक्ष श्रेष्ठले अनलाइन सरोकारसँग भने, ‘प्रदेश सरकारले पहाडिया बस्ति भनेर विभेद गर्छ । छिमेकी पालिकाहरुमा करोडौंको बजेट दिँदा ठोरीलाई १ रुपैंया पनि दिँदैन ।’ योजना तर्जुमाको चरणमा आश्वासन आएपछि प्रदेशको योजनामा ठोरी नपरेको उनको भनाई छ ।

मधेश प्रदेशको पर्यटकीय हवका रुपमा घोषणा गरिएको ठोरी प्रदेश सरकारकै कारण पछि परेको छ । अघिल्लो वर्षअघि ठोरीमा बसेको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको थियो ।

मधेस प्रदेशका तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रको पर्यटकीय हिसाबले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको समेत बताएका थिए । तर त्यो बजेट ठोरीमा आइनपुगेको गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘यहिँ मन्त्री परिषदको बैठक बसेर घोषणा गरेको १० लाख पनि आएन । हाम्रो पहलमा गतवर्ष एउटा योजनामा बल्ल बजेट राखिएको थियो पछि रकमान्तर गरेर अन्यन्त्रै पठाइयो ।’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘विगतमा विभेद भयो भनेर आवाज उठाइयो, आगामी वर्षको बजेटमा समेट्ने आश्वासन आएको थियो तर भखैरै आएको प्रदेशको नीति, कार्यक्रम र बजेटमा ठोरीलाई १ रुपैंया पनि विनियोजन भएन ।’ मधेश सरकारले विभेद गरेपछि बाध्य भएर औपचारिक कार्यक्रमहरुमै ठोरी गाउँलाई नसमेट्ने हो भने अर्को प्रदेशमा गाभ्न माग गर्ने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा यस ठाउँको विकास अपेक्षित ढङ्गले हुन सकेको छैन ।

भारतसँग सीमानाका जोडिएको कारण पनि ठोरीमा दिनहुँ हजारौँ भारतीय पर्यटकहरु आउने गर्छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ ।

नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन् । पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा स्वदेश तथा छिमेकी देश भारतबाट लाखौँ भक्तजन आउने गर्दछन् ।

ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन् ।

प्रकाशित मिति : २०८०, ६ असार बुधबार ००:००  ३ : ३९ बजे