२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुन्य विकासबाट समृद्धिको यात्रामा निसीखोला



बाग्लुङको निसीखोला गाउँपालिकाका जनप्रतिनिधिले दुर्गम गाउँलाई सुगम बनाएका छन् । बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये निसीखोला गाउँपालिका केही  वर्षअघि सम्म निकै विकट थियो । वर्तमान जनप्रतिनिधिको सकृयताबाट भएको विकासले निसीखोला भित्रका दुर्गम गाउँहरु सुगम बनेका हुन् ।

देवीस्थान, बोहोरागाउँ, राजकुत र निसी क्षेत्रका सबै टोलबस्तिमा मोटरबाटोको पहुँच पुगेको छ । समृद्धिको मार्ग स्वरुप गाउँटोलमा पुुर्याइएका सडक सञ्जालको स्तरोन्नती गर्ने र अन्य पूर्वाधार विकासमा समेत आवधिक योजना बनाएर काम गर्ने स्थानीय तहको योजना छ ।

गाउँपालिकामा ७ वटै वडाका विद्यालयको शैक्षिक गुणस्तर र स्वास्थ्य संस्थाको सेवाको गुणस्तर बढाइएको छ ।

निसीखोलाका नागरिकको मुख्य पेशा कृषि र पशुुपालन हो । सबै वडामा पशुवस्तु चरिचरणका लागि प्रसस्तै खुला जमिन छ । खेतीपातीको सम्भावना पनि उत्तिकै छ ।

बागलुङ जिल्लामै सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्र निसीखोलाको वडा नम्बर ५ निसेलढोर, वडानम्बर २ को अर्नाकोट हो । निसीखोलामा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले अहिले थप स्याउखेती विस्तार गरिरहेको छ ।

निसीखोला मौरीको महका लागि निकै प्रख्यात छ ।

बोयर बोका वितरण गरिरहेको निसीखोलाले गाउँलाई आलु र मासुमा आत्मनिर्भर बनाएको छ ।

दलहन र तेलहनबाली प्रसस्तै हुने यस क्षेत्रमा परम्परागत निर्वाहमुखी खेतीलाई आधुनिकिकरण गरेर व्यवसायिक बनाउन पकेट विकासका कार्यक्रम थालिएको छ ।

कृषि मार्फत नै किसानलाई आत्मनिर्भर बनाउन कृषकको उत्पादन, हातहातमा अनुदान जस्ता कार्यक्रम मार्फत कृषि र पशु पालनमा उत्पादनमा आधारित अनुदान दिने गरिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

बाग्लुङको निसीखोलाका सबै नागरिकको स्थानीय सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । उपचार खर्च अभाव र आधारभुत स्वास्थ्य सेवाको अभावमा रोग पालेर बस्न बाध्य यहाँका स्थानीयलाई वर्तमान जनप्रतिनिधिले पदभार ग्रहण गरेलगत्तै बीमाका कार्यक्रम  मार्फत निःशुल्क स्वास्थ्य बीमा गरिदिएर उपचारमा सहजता ल्याइदिएका छन् । गतवर्ष बीमा गर्न छुटेकाहरुका लागि यसवर्ष २ करोड बजेटबाट बीमा गराउने काम भइरहेको छ ।

वडा वडामा स्रोत साधन सम्पन्न स्वास्थ्य चौकी व्यवस्थापन र लेबाङ जस्ता टाढाका टोलबस्तिमा स्वास्थ्य इकाइ स्थापना तथा शिविर सञ्चान गरेर सेवा दिइरहेको निसीखोलाले पोषणका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बाग्लुङ जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा चिनिएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ । भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षा घरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको छ । यहाँ वार्षिक करिब डेढसय जनाले प्रसुति सेवा लिने गरेका छन् ।

यसक्षेत्रमा विगतमा खानेपानीको निकै समस्या थियो । नेवा सँगको साझेदारीमा पालिकाले मुहान देखि चुहानसम्म दिगो हुनेगरी खानेपानी आयोजना सञ्चानल गरेर नागरिकलाई स्वच्छ पानी खुवाएको छ ।

गाउँमै लघुजलविद्युत आयोजना सञ्चालन गरेर विद्युतीकरण गरिएको निसीखोलामा केन्द्रिय विद्युत विस्तारको काम धमाधम भईरहेको छ ।

अधुरा योजनाहरु सम्पन्न हुने चरणमा छन् भने नयाँ दिर्घकालिन विकासका अवधारणाहरु अघि बढेका छन् ।

निसीखोला पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो । ग्रामिण क्षेत्रमा घुम्न र रम्न चाहनेलाई स्थानीय उत्पादनका अर्गानिक परिवारको स्वाद चाख्दै आँखै अगाडी देखिने सुन्दर हिमश्रङ्खला, डाँडापाखा, भञ्ज्याङ चौतारी, छाँगाछहराजस्ता मनोरम एवं रमणियस्थलहरु हेर्न र चुम्न पाइन्छ ।

पर्यटन प्रवद्र्धनका लागि डिपिआर बनाएर पूर्वाधार विकास र प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन नर्सिङकोटमा केबुलकार राख्ने, पालिका स्तरीय खेलमैदान बनाउने, पर्यटकीय पैदलमार्ग बनाएर स्थानीय पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने योजना छ ।

पुरानो किंवदन्ती बोकेको राजारानी पुतलीद्धारा जस्ता थुप्रै इतिहासहरु यसक्षेत्रमा छन् । राज्य एकिकरणको सन्दर्भ जोडिने यसक्षेत्रमा त्यो बेला देखिनै मागेसंक्रान्तिमा मेल महोत्सव आयोजना हुँदै आएको छ । आधुनिकताको विकाससँगै परम्पराको संरक्षणमा जुटेको निसीखोलाले युवा क्लवका माध्यमबाट कला संस्कृति र खेलकुदको संरक्षण एवं जगेर्ना गरिरहेको छ ।

सामाजिक गतिविधिमा युवालाई अगुवा बनाएको यो गाउँपालिकाले युवालाई आत्मनिर्भर बनाउने नीति कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यहाँ लक्षित वर्ग विशेष कार्यक्रमहरु सञ्चालनमा छन् । सिपमुलक तालिम कार्यक्रम उत्पादन र आत्मनिर्भतामा केन्द्रित छन् ।

कुरिति, विशंगती र छुवाछुत जस्ता सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनिय कार्यहरु निस्तेजको अभियान चलिरहेको छ । सहारा विहिनले साथ मात्रै पाइरहेका छैनन् अन्यायमा परेका न्यायिक समिति मार्फत न्याय समेत पाएका छन् ।

सचेतनाको विकासमा जोड दिएको यो गाउँपालिकाले महिला हक अधिकारका पक्षमा अभियानात्मक कार्यक्रम गर्दै आएको छ ।

सुशासन र पारदर्शीताका सवालमा उत्कृष्ट काम गर्दै आएको निसीखोलाले सार्वजनिक सेवा प्रवाहलाई गुनासो रहित बनाइएको छ ।

आन्तरित स्रोत नभएको निसीखोलाले सिमित स्रोतबाट नागरिकका असिमित माग र आवश्यकता पुरा गरिरहेको छ । जनताका माग बोकेर यहाँका जनप्रतिनिधि माथिल्ला सरकारका ढोका ढकढकाउन पुगरिहेका छन्  ।

निर्वाचित भएको पहिलो २ वर्ष जनपक्षिय काम गरेका निसीखोलाका जनप्रतिनिधि बाँकी कार्यकालको ३ वर्ष पनि रचनात्मक काम गर्ने योेजनामा छन् ।

हेर्नुहोस् निसीखोलाको विकास

प्रकाशित मिति : २०८१, ६ बैशाख बिहीबार ००:००  १० : २८ बजे