कालिकोटको नरहरिनाथ गाउँपालिकामा किसानलाई गोठालो भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । देशकै सबेभन्दा बढी पशुपालन हुने नरहरिनाथ गाउँपालिका भित्रका किसानलाई थप व्यवसायिक पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गतवर्षबाट थालेको गोठालोलाई भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको हो ।
नरहरिनाथ गाउँपालिकाको गोठालो भत्ता कार्यविधिअनुसार भेडाबाख्रा ३० वटा भन्दा बढी र भैंसी ४ वटा भन्दा बढी व्यावसायिक रूपमा पाल्ने किसानले मासिक १ हजार भत्ता पाउँछन् । गतवर्ष नगरहरि नाथका १८४ जना किसानले मासिक १ हजारका दरले भत्ता पाएका छन् । पालिकाले भत्ता पाउने किसानको नाम छनोट गरेर सुचिकृत गर्ने र मासिक भत्ता दिने गरेको छ । सुचिकृत भएका किसानले आफ्नै पशु पाल्दा पनि मासिक १ हजारका दरले बार्षिक १२ हजार रकम पाउने छन् ।
गतवर्षबाट सुरु गरिएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बनेर व्यवसायिक पशुपालनमा किसान आकर्षित भएपछि पालिकाले यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।
समाजमा गोठालोलाई हेयका भावले हेर्ने र हेप्ने चलन छ । तर नरहरिनाथले तिनै हेपिएको पेशा गर्ने गोठालोको सम्मान गरेर त्यहि कामबाट किसानको उन्नति र पालिकाको समृद्धि खोजिरहेको छ ।
पुराना किसानलाई भत्ता निरन्तर दिने र नयाँ व्यवसायिक पशुपालन किसान पहिचान गरेर गोठालो भत्ता कार्यक्रममा समावेश गरिने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले अनलाइन सरोकारसँग बताए । देशमै सबैभन्दा बढी पशुपालन गरिने र सबैभन्दा सस्तो घ्यु उत्पादन हुने गाउँका किसानलाई व्यवसायिक पशुपालन मार्फत आर्थिक समृद्धिको लक्ष्य राखेर गोठालो भत्ता कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष विष्टको भनाई छ ।
नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । पालिकामा भैँसी तथा भेडाबाख्रापालक किसान धेरै भएकाले उनीहरूलाई पालिकाले प्रोत्साहन गरिरहेको छ । पशुपालक किसानलाई गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
पशुपालन प्रवद्र्धन गरिरहेको नरहरिनाथ गाउँपालिकाले मासु र दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणका लागि समेत पहल गरिरहेको छ ।
उत्पादित दूध बिक्री सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना देखि दूध विक्रिका लागि अन्य पालिकासँग सम्झौता र भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा गरेर नरहरिनाथ गाउँपालिकाले पशुपालनका क्षेत्रमा देशकै अब्बल अभ्यास गरिरहेको छ ।