२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामो दूरीका यातायात चल्ने मिति धकेलियो



काठमाडौं । सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्न दिने भनेको लामो दूरीका सार्वजनिक यातायात १६ गतेदेखि मात्र चल्न दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवाराज खतिवडाले कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेकाले उक्त निर्णय गरिएको जानकारी दिए ।

यातायात व्यवसायीहरुसँगको समन्वयमा सरकारले भदौ १ देखि लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय यसअघि गरेको थियो । उक्त निर्णयलाई अब भदौ १६ देखि मात्र कार्यान्वयनमा ल्याउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको खतिवडाको भनाई छ । यस्तै, सरकारले कोरोना सक्रिय संक्रमित रहेका २ सयभन्दा बढी जिल्लामा आवतजावत बन्द गरेको छ । डा. खतिवडाले सरकार लकडाउनको अवस्थामा नफर्किएको बताउँदै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द गरिएको बताए । उनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा यो नियम लागु हुनेछ ।

सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म बन्द नै राख्ने निर्णय गरेको छ । संक्रमण बढ्दै गएको सन्दर्भमा अर्को सूचना प्रकाशित नभएसम्म शैक्षिक संस्था, सिनेमा हल, पुस्तकालय, धेरै जनाको समूहमा खेलिने खेलकुदका कार्यक्रमलगायत नखोल्ने निर्णय गरेको हो ।

यसैबीच, सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने नियम ल्याएको छ । खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने बताए । उनले धार्मिक तथा सामाजिक स्थल, चिडियाखाना लगायतका क्षेत्र अझै नखुल्ने जानकारी दिए । सरकारले चाडपर्व आ–आफ्ना परिवारका सदस्यको बीचमा मात्र मनाउन दिने निर्णय पनि गरेको छ ।

सरकारले १० वटा नाकाबाट मात्र नेपाल भित्रिन पाइने बताएको छ । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी बताए । उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार ००:००  ११ : ४८ बजे