२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको कहरमा परेका नागरिकका समस्या बुझ्दै कांग्रेस नेता खतिवडा



ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सरकारले कोरोनाको कहरमा नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । गृह जिल्ला ओखलढुंगाको टोक्सेलमा स्थापना गरिएको होल्डिङ सेन्टर र रुम्जाटार माविको क्वारेन्टाईन स्थलमा पुगेर नेता खतिवडाले यस्तो बताएका हुन् ।

सरकारलाई कोरोनाको कहरका बेला प्रतिपक्षी दल नेपाली कांग्रेस सहित सबै दल र वर्गले सहयोग गरेको भएपनि सत्तारुढ दल भित्रको आन्तरिक किचलोले सरकार नागरिकको चाहना र आवश्यकता अनुसार काम गर्न असफल भएको उनको तर्क थियो । ‘हामीले सरकारलाई सहयोग गरिरहेका छौं । अहिलेको सरकारलाई असहयोग कसैबाट छैन बरु पदका लागि सरकार चलाउने दल भित्रै किचलो छ ।’ उनले भने, ‘सरकारले क्वारेन्टाइन स्थल र होल्डिङ सेन्टर समेत व्यवस्थापन गर्न नसकेका कारण कोरोनाको जोखिम झन बढेको छ । तपाईहरु आफ्नो सुरक्षामा ध्यान दिनुहोला, सतर्क रहौं भनेर अनुरोध गर्न यहाँ आईपुगेँ ।’ नेता खतिवडाले रुम्जाटारमा भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खर्च स्वरुप ५ हजार सहयोग गरेर फर्किएका छन् ।

खतिवडाले कोरोनाको जोखिममा काम गर्नेहरुलाई पिपिई सेट सहयोग गरेका छन् । ३ थान रुम्जाटार अस्पताल, ३ थान जिल्ला स्वास्थ्य, ३ थान नेपाल आर्मी १ थान खाना बनाएर खुवाउनेलाई गरि १० थान पिपिई सेट हस्तान्तरण गरेको खतिवडाका स्वकिय सचिव हुकुम राईले जानकारी दिए । खतिवडाले आगामी दिनमा थप सहयोग गर्ने बचन दिएका छन् ।

यसैबिच सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले होल्डिङ सेन्टर र क्वारेन्टाईनहरुमा बसेका सुनकोशीका सबै नागरिकको खाना तथा त्यहाँ बस्दा लाग्ने खर्च व्यहोर्ने बताएका छन् । होल्डिङ सेन्टर र क्वारेन्टाईनहरुमा भएका व्यक्तिलाई भेटेर उनीहको अवस्था बुझ्दै त्यहाँ लाग्ने सबै आवश्यक खर्च गाउँपालिकाले व्यहोर्ने बताएका हुन् । ‘खर्च नभएका कारण वा कुनै अन्य बहानामा तपाईहरुले दुःख पाउनु हुँदैन व्यवस्थापनमा लाग्ने खर्च हामी व्यहोर्छौं ।’ अधिकारीले भने । अध्यक्ष अधिकारीले क्वारेन्टाईन व्यवस्थापन पक्षसँग त्यहाँ रहेका नागरिकलाई खानपानमा कुनै समस्या हुन नदिन आग्रह गरेका छन् ।

कांग्रेस सभापति प्रदिप सुनुवार सहितका कांग्रेसका नेताहरु सोमबार हर्कपुर र मंगलबार रुम्जाटार पुगेका थिए ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुर माविको होल्डिङ सेन्टरमा २९ जना र रुम्जाटार माविको क्वारेन्टाईनमा ४५ जना विदेशबाट फर्किएकालाई राखिएको छ ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार ००:००  १२ : २० बजे