२०८२, २४ मंसिर मंगलबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलमानलाई बालेनको प्रस्ताव



वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरण प्रयास तुहिँदै गएको बेला हिजो ऊर्जामन्त्री कुलमान घिसिङको फेसबुकबाट अर्थपूर्णरूपमा एउटा तस्बिर पोस्ट भयो । तस्बिर थियो, घिसिङ र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साहबीचको भेटघाटको ।

खासमा यो भेटघाट हिजोको नभएर अस्तिको हो । बालेन्द्रलाई भेट्न ऊर्जामन्त्री घिसिङ उनको निवासमा पुगेका थिए । भेटवार्तामा वैकल्पिक शक्तिहरूबीचको ध्रुवीकरणकै विषयमा कुराकानी केन्द्रित भएको बुझिएको छ ।

आगामी निर्वाचनमा भाग लिने उद्देश्यसहित ‘उज्यालो नेपाल’ पार्टी स्थापना गरेका कुलमान बालेनको साथ र समर्थन लिन चाहन्छन् । यही सन्दर्भमा उनी बालेनलाई भेट्न गएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार बालेनले भेटवार्तामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आएमा आफूले बाहिरै बसेर समर्थन गर्न सक्ने जनाउ दिएका थिए । उनले रास्वपा र उज्यालो नेपाल पार्टी एक हुनुपर्ने राय समेत प्रस्तुत गरेको स्रोतको भनाइ छ ।

‘यदि रास्वपा र उज्यालो नेपाल मिल्ने हो भने आफू निकट व्यक्तिहरू त्यसमा सहभागी हुन सक्ने र आफूले बाहिर बसेर समर्थन गर्ने आशय उहाँको छ,’ स्रोतले भन्यो ।

बालेनले निर्वाचन प्रयोजनका लागि कुनै पनि दल दर्ता गरेनन् । त्यसैले भएका दलमध्ये एउटालाई समर्थन गर्ने वा तटस्थ बस्ने उनको रणनीति छ । विवेकशील साझा पार्टीलाई मर्ज गरेपछि रास्वपा उत्साहित देखिन्छ । अन्य नयाँ पार्टी र समूहलाई पनि ल्याउने रास्वपाको प्रयास छ ।

रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भरमग्दुर पहल भए पनि कुनै टुंगोमा पुग्न सकेको छैन । हिजो दल दर्ता गर्ने अन्तिम दिनसम्म सहमति जुटाउने प्रयास जारी थियो । तर, त्यो सफल भएन । तर, निर्वाचन आयोगले दुई पार्टीहरू एकता भएमा २० गतेसम्म विवरण अद्यावधिक गर्न सकिने भनेपछि फेरि अर्को चरणको प्रयासमा केही नेताहरू जुटेका छन् ।

दुई पार्टीबीच सैद्धान्तिकरूपमा खासै समस्या नरहे पनि पदीय बाँडफाँटमा कुरा नमिलेको हो । कुलमानले रवि कारगारमै रहँदाको अवस्थासम्म आफूले पार्टी कमाण्ड लिन चाहेका छन् । रास्वपा नेताहरू यसमा तयार छैनन् । उनीहरूले कुलमानलाई उपसभापति बन्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २०८२, १६ मंसिर सोमबार ००:००  ११ : ४८ बजे