ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा अनलाइन घटना दर्ता सुरु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर ५ बाट अनलाइन घटना दर्ता सुरु गरिएको हो ।
विगतमा ढड्डामा विवरण राखेर गरिने घटना दर्तालाई प्रविधिको प्रयोग गरेर अनलाइन मार्फत गर्न सुरु गरिएको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भटराईले जानकारी दिए । ईन्टरनेटको बिस्तारसंगै अरु वडाहरुबाट अनलाइन घटना दर्ता सेवा प्रवाह गरिने उनको भनाई छ ।
यस्ताे हुन्छ अनलाइन घटना दर्ता
यो सेवा भएका निकायमा सेवाग्राहीले जन्म,मृत्यु, बसाईसराई, विवाह तथा सम्बन्ध बिच्छेद जस्ता घटना अनलाइन मार्फत अद्यावधिक गर्न सक्ने छन् । यस प्रविधिको प्रयोगबाट घरमै बसेर वा अन्य ठाउँबाट अद्यावधिक गरेर समेत घटना दर्ता गराउन सकिने छ । कार्यालयमा दर्ता हुन आएका समेत घटनाको विवरण समेत अनलाइन सिस्टममा राखिने छ ।
फारम भर्दा एउटा टोकन नम्बर प्राप्त हुन्छ । त्यो नम्बरका आधारमा सम्बन्धित कार्यालयबाट सहजै घटना दर्ताको प्रमाण पत्र लिन सकिन्छ ।












