काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बिहीबार) नौवटा वडामा स्वाब संकलन गर्दै छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार कोरोना नियन्त्रण अभियानअन्तर्गत कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको हो ।
उनका अनुसार आज बिहान ११ बजे वडा नम्बर ८ मा १०० जना, वडा नम्बर २९ मा १०० जना, वडा नम्बर २८ मा १२० जनाको परिक्षण गरिने छ । यस्तै दिउँसो २ बजे वडा नम्बर २०, २१, २३ र २४ मा १२० जना, वडा नम्बर ३ मा ३० जना, वडा नम्बर ६ मा ५५ जनाको स्वाब संकलन गरिनेछ ।
सुरुमा संक्रमितसँग सम्पर्क गरेका व्यक्तिको स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने महानगरपालिकाका प्रवक्ता डंगोलले बताए । उनले स्वाबको नतिजा कस्तो आउँछ सोहीको आधारमा अन्य कदम चाल्ने समेत बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत कोरोना संक्रमण भइसकेको छ ।












