२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधनबारे जसपामा अलमल



अनलाइन सराेकार

काठमाडाैं – संविधान संशोधनको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा अलमल देखिएको छ । निसान छापमा लिम्पियाधुरासहितको नेपालको नक्सा राख्न सरकारले शुक्रबार दर्ता गराएको संविधान संशोधनको प्रस्तावबारे जसपाले धारणा बनाउन सकेको छैन ।

पार्टी एकीकरणको आन्तरिक व्यवस्थापनमा व्यस्त जसपा नेताहरूले आफूले पहिलेदेखि नै उठाउँदै आएको मागलाई पनि सम्बोधन हुने गरी संशोधन प्रस्ताव तयार गर्न सरकारलाई आग्रह गरेका थिए । तर, सरकारले निसान छाप मात्रै संशोधन गर्ने गरी प्रस्ताव दर्ता गराएको छ ।

‘संविधान संशोधन गर्नुपर्ने हाम्रो पनि माग हो । अहिले सरकारले के संशोधनको प्रस्ताव ल्याएको छ, त्यो हेरेर मात्रै निर्णयमा पुग्छौँ,’ जसपा नेता महन्थ ठाकुरले भने । उनले संसदमा टेबुल भएपछि प्रस्ताव आउने र अनि त्यसबारे छलफल र निष्कर्ष निकालिने बताए । ‘सरकारले प्रस्ताव दर्ता गराउँदासम्म हामीसँग कुनै सरसल्लाह गरेको छैन । त्यसैले अहिले नै त्यसबारे प्रतिक्रिया दिन्नँ,’ ठाकुरले भने ।

संसदमा पनि जसपा नेताहरूले नेपालको नयाँ नक्सा जारी गरेर कूटनीतिक तवरबाट विवाद समाधान गर्न सल्लाह दिएका थिए । उनीहरूले संविधान संशोधन गर्दा मधेसकेन्द्रित पार्टीहरूले आन्दोलन गर्दा अघि सारेका मागसमेत सम्बोधन गर्न आग्रह गरेका थिए । तर, संविधान संशोधन प्रस्ताव लैजाँदा कसैसँग सरसल्लाह नगरेकाले जसपा नेताहरू मौन देखिएका छन् ।

अझै पनि मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको मुद्दालाई आफ्नो राजनीतिक एजेन्डा बनाएका छन् । जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जसपाले पनि त्यसलाई प्राथमिकतामा राखेको छ । त्यसमा डा. बाबुराम भट्टराई पनि सहमत भएपछि दुवै पार्टीबीच एकीकरण भएको हो । अहिले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउँदा भने उनीहरू के गर्ने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : २०७७, १० जेठ शनिबार ००:००  ३ : ४४ बजे