२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोलुङ हाइड्रोले बाँड्याे संस्थापक शेयर : स्थानीय यसरी बन्दैछन् हाइड्रोका मालिक !



ओखलढुंगा । ओखलढुंगाको मोलुङ हाइड्रो पावर कम्पनीले स्थानीयलाई संस्थापक शेयर वितरण गरेको छ । जिल्लाकै महत्वको आयोजनाका रुपमा रहेको मोलुङ हाइड्रोले मोलुङ गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई २ करोड ५५ लाख ३८ हजार बराबरको शेयर वितरण गरेको हो ।

हाइड्रोले मोलुङ गाउँपालिकाका ८ वटै वडाका १ हजार ८ सय ७५ शेयरधनीलाई २ लाख ५५ हजार ३ सय ८० शेयर दिएको छ । वडा नम्बर १ मा ३ सय ४९, वडा नम्बर २ मा ३ सय ७१, वडा नम्बर ३ मा १ सय ४, वडा नम्बर ४ मा ४ सय ९१, वडा नम्बर ५ मा १ सय ७४, वडा नम्बर ६ मा १ सय २८, वडा नम्बर ७ मा १ सय २५ र वडा नम्बर ८ मा १ सय ३३ जनाले हाइड्रोको शेयर पाएका छन् । वडा नम्बर ४ हाइड्रोको बढी प्रभावित क्षेत्र परेकाले उक्त वडाका स्थानीयले बढी शेयर पाएका हुन् ।

मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, उपाध्यक्ष हेमकुमारी तामाङ र सबै वडाका वडा अध्यक्षले हाइड्रोको संस्थापक शेयर बुझेका छन् ।

आयोजना सञ्चालन भएको स्थानीय तह भित्रका नागरिकले खरिद गरेको शेयरको प्रमाणपत्र जनप्रतिनिधि मार्फत वितरण गरिएको मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक नविन महर्जनले बताए । कोरोनाको संक्रमणका कारण कम उपस्थितीमा सबै शेयर धनीलाई उपलब्ध हुनेगरि गाउँपालिका र सबै वडा अध्यक्ष मार्फत शेयर प्रमाणपत्र पठाईएको उनको भनाई छ । स्थानीयलाई हाइड्रो पावरको मालिक बनाउने लक्ष्य अनुसार पहिलो चरणमा संस्थापक शेयर दिइएको सञ्चालक महर्जनको भनाई छ । ‘आयोजनाको प्रभावित क्षेत्रमा  मात्रै होईन गाउँपालिका भित्रका सबैलाई संस्थापक शेयर दिएका छौं । उहाँहरु पनि अब हाइड्रोको मालिक बन्नुभयो ।’ उनले भने, ‘आगामी दिनमा अन्य शेयरहरु पनि विक्रि गर्छौ । यसक्षेत्रका नागरिके बढी शेयर लिएर मुनाफा कमाउनुहुन्छ ।’ आयोजनामा रोजगारीमा समेत स्थानीयलाई प्राथमिकता दिएकाले शेयर विक्रिमा पनि उनीहरुलाई प्राथमिकता दिईने बताए ।

स्थानीय सर्वसाधारणले कुखुरा बेचेर हाइड्रोको शेयर किनेकाले मुनाफा दिलाउन गाउँपालिका अध्यक्ष मणिराज राईले आयोजनासँग आग्रह गरेका छन् । संस्थापक शेयर वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले ढिलो गरेर भएपनि शेयर प्रमाणपत्र पाउँदा स्थानीयमा खुसी छाएको भन्दै अब नाफा दिन आग्रह गरेका हुन् । ‘हाइड्रोको मालिक बन्ने सपना देखेर यहाँका सर्वसाधारणले कुखुराका चल्ला बेचेर पनि शेयर किनेका छन् । केही समय प्रमाण केही नहुँदा खायो कि क्या हो भनेजस्तो पनि धेरैलाई भइसकेको थियो ।’ अध्यक्ष राईले भने,‘संस्थापक शेयरको प्रमाणपत्र पाइयो । यो सबै शेयरधनीलाई हामी दिन्छौं । अब नाफा दिलाउने तर्फ आयोजनाले सोच्नुपर्छ ।’ अध्यक्ष राईले हाइड्रोमा विभिन्न समयमा हुने क्षति रोक्न र क्षतिपूर्ति सम्बन्धी मापदण्ड पनि बनाउन सुझाव दिएका छन् । करेन्ट लागेर मानिसको मृत्यु भए लगायतका घटनामा संधै आन्दोलन गरेर क्षतिपूर्ति माग्नुपर्ने स्थानीयको बाध्यता रहेको भन्दै उनले यसबारेमा तत्काल मापदण्ड बनाएर सार्वजानिक गर्न माग सुझाव दिएका हुन् ।

संस्थापक शेयर वितरण नियमित प्रकृयामा अन्तरगत नै भएको र अब मुनाफाका लागि पहल गरिने मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक नविन महर्जनले बताए । उत्पादन भएको विद्युत सबै खपत नहुँदा कम्पनी घाटामा गएको उनको भनाई छ । ‘सरकारी मापदण्डका झमेला र कोरोनाको संक्रमणका कारण केही ढिला भयो तर अन्य आयोजनाहरुमा जस्तो हामीले गैरजिम्मेवार पन देखाएका छैनौं केही आशंकाका भरमा हल्लाहरु भए त्यसमा सत्यता छैन ।’ उनले भने, ‘हामीले जति विद्युत उत्पादन गरेका छौं त्यो सबै प्राधिकरणले लिन सकेको छैन । त्यसो हुँदा अहिले बैंकको ब्याज तिर्न पनि अर्को ऋण लिनुपरेको अवस्था छ । अब मुनाफा कमाएर शेयरधनीलाई साँच्चिकै धनी बनाउने आयोजनाको लक्ष्य हुनेछ ।’ उत्पादन भएको आधा विद्युत पनि खपत हुन नसकेको उनको भनाई छ ।

वडा कार्यालयहरुले सम्बन्धित व्यक्तिलाई शेयर प्रमाणपत्र वितरण गर्न थालेका छन् ।

शेयरधनी प्रमाणपत्र पाएपछि स्थानीय खुसी भएका छन् । प्रमाणपत्र पाएसँगै जनताको लगानी सुनिश्चित भएको स्थानीय अगुवा फणिन्द्रप्रसाद दाहालले बताए ।

कम्पनीले त्यस भेगमा सञ्चालित दुईवटा माइक्रोहाइड्रो आफूमातहत लिएर उपभोक्ताको लगानी संस्थापक सेयरमा परिणत गरेको छ । रामपुरस्थित सय किलोवाटको माइक्रोहाइड्रा र हर्कपुरस्थित ४० वाट क्षमताको माइक्रोहाइड्रोलाई समेत कम्पनीले सेयरमा परिणत गरिदिएको छ ।

मोलुङ हाइड्रोपावर निर्माणका लागि विभिन्न बैंकको १ सय ४० करोड रुपैयाँ लगानी देखाइएको छ । आयोजनाबाट बर्षामा ७ र हिउँदमा ४ मेगावाट विद्युत उत्पादन हुने भए पनि विद्युत प्राधिकरणको आन्तरिक समस्याका कारण सबै विद्युत बेच्न नसकिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  ११ : ४६ बजे