२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा बढी राजश्व संकलन गर्ने वडाले थप याेजना पाए



ओखलढुंगाको सुनकोशी गाउँपालिकाले बढी राजश्व संकलन गर्ने वडालाई पुरस्कृत गरेको छ । १० वटा वडा रहेको सुनकोशीले गत आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व संकलन गर्ने तीन वटावडालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको हो ।

सबैभन्दा बढी राजश्व उठाउने वडालाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति अनुसार क्रमश : ५ लाख, ३ लाख र २ लाख बराबरको थप योजना दिएर बढी राजश्व संकलन गर्ने वडालाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । करदातालाई करको दायरामा ल्याएर स्थानीय सरकारको आयस्रोत बढाउने लक्ष्य अनुसार बढी राजश्व उठाउने वडालाई प्रोत्साहन गर्ने गरिएको अध्यक्ष अधिकारीको भनाई छ । ‘राजश्वकको दायरालाई फराकिलो बनाउँदै करदातालाई नियमानुसार करको दायरामा ल्याउने, स्थानीय तहको आयस्रोत बढाउने र जम्मा भएको कर बापतको रकम फेरि गाउँकै विकासमा खर्चिने हाम्रो नीति छ ।’ अधिकारीले भने, ‘आन्तरिक स्रोत जुटाउन निकै चुनौति छ । कम सम्भावना हुँदा पनि अधिकतम् प्रयास गर्ने र सबैभन्दा बढी कर उठाउने वडामा क्रमश : ५, ३ र २ लाख बराबरका योजना पठाउँछौं । त्यो रकम यसवर्ष ९ नम्बर वडा पहिलो भयो ।’ व्यवसाय प्रवद्र्धन गरेर आन्तरिक स्रोत वृद्धिमा गाउँपालिकाले नीतिगत पहल गरिरहेको उनको भनाई छ ।

सबैभन्दा बढी १ लाख ६६ हजार ५ सय ५९ रुपैंया राजश्व उठेको वडा नम्बर ९ ले ५ लाख, १ लाख ६४ हजार ४ सय १४ रुपैंया ६ पैसा राजश्वक उठाएको वडा नम्बर ३ ले ३ लाख र १ लाख १९ हजार ६ सय ५८ रुपैंया राजश्व संकलन गरेको र वडा नम्बर ४ ले २ लाख बराबरका थप योजना हात पारेका छन् ।

सुनकोशी ९ ले प्रोत्साहन वापत पाएको रकम आन्तरिक स्रोतवृद्धि र व्यवसाय प्रवद्र्धनमा खर्चिने भएको छ । बढी राजश्व संकलन गरेबापत प्रोत्साहन स्वरुपपाएको ५ लाख बराबरको योजना स्थानीयले महसुस गर्ने विकासमा खर्चिने वडाअध्यक्ष झनकुमार कार्कीले बताए । ‘वडाबासीलाई बढी कर तिरे वापत थप योजना पायौं भन्ने महसुस गराउने गरि योजना छनौट गर्छौ ।’ वडा अध्यक्ष कार्कीले भने, ‘आगामी वर्षपनि अधिकतम् राजश्वक संकलनमा जोड दिने छौं ।’ कोरोना महामारीको आतंक र लकडाउनका कारण लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको भएपनि पालिकाको प्रोत्साहनले स्रोत वृद्धिमा थप प्रेरणा मिलेको उनको भनाई छ ।

गतवर्ष वडा नम्बर १ ले बढी राजश्व संकलन गरेर ५ लाख बराबरका योजना थप लगेको थियो । दोस्रो र तेस्रो पुरस्कार गतवर्ष पनि वडा नम्बर ३ र ४ ले हात पारेका थिए ।

सुनकोशी गाउँपालिकामा गत आर्थिक वर्षमा २० लाख २० हजार ८ सय १९ रुपैंया राजश्व संकलन भएको थियो ।

पालिका भित्रका सबै वडाले गत वर्ष संकलन गरेको राजश्वको विवरण र आगामी वर्षको लक्ष्य पालिकामा पेश गरिसकेको गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईले जानकारी दिईन् ।

चालु आर्थिक वर्षमा ३५ लाख आन्तरिक आयस्रोत संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार ००:००  ३ : ५७ बजे