२०८१, २२ बैशाख शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मीको महानता : कोरोना जाँच खर्च ५० प्रतिशत र उपचारमा २५ हजार सहयोग गर्ने



जितपुर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने घोषणा गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्न र संक्रमितको उपचार गर्न केन्द्र सरकारले नसक्ने घोषणा गरेपछि महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका संक्रमितको उपचारमा सहयोग गर्ने निर्णय गरेको हो ।

कोरोना परीक्षणका लागि लाग्ने शुुल्कको ५० प्रतिशत र जटिल प्रकृतिका आईसीयूमा भर्ना हुनुपर्ने संक्रमितलाई २५ हजार आर्थिक सहयोग गरिने नगरप्रमुख पर्शुराम नेपालले बताए । नागरिकको जिवनरक्षा पहिलो प्राथमिकता भएकाले कोरोना परीक्षण र संक्रमितको उपचारमा सहयोग गर्नु आफ्नो दायित्व भएको नगरप्रमुख नेपालको भनाई छ । ‘केन्द्र सरकारले निःशुुल्क जाँच र उपचार गर्दा सम्म हामीले नगरक्षेत्र भित्र संक्रमण रोक्न, संक्रमितलाई अस्पताल लैजान र स्थानीय स्तरमा सतर्कताका लागि सचेतना अभिवृद्धि सहित केही राहतका कार्यक्रम सञ्चालन गरेका थियौं ।’ नेपालले अनलाइन सरोकारसँग भने, ‘केन्द्र सरकारले परीक्षण र संक्रमितको उपचार गर्न नसक्ने भनेपछि हामीले हाम्रो तर्फबाट सकेको सहयोग गरेर जनता बचाउने अभियानमा लाग्नुपर्छ भन्ने निचोड निकालेका हौं ।’ रकम खर्च हुने डरले वा आर्थिक अभावले समयमै परीक्षण नगर्दा अवस्था थप जटिल हुन नदिन परीक्षणमै ५० प्रतिशत सहयोग गर्ने निर्णय गरिएको उनको भनाई छ । नगरप्रमुख नेपालले नगरपालिकाले दिने पच्चिस हजार पर्याप्त नभएपनि संक्रमितलाई केही सहयोग पुुग्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य सुवेदीका अनुसार महालक्ष्मी नगरपालिकाका बासिन्दाले शंका लागेमा वा कोरोनासँग लक्षण मिलेमा अनिवार्य पिसिआर जाँच गराउनुुपर्ने छ । यदि संक्रमण पुष्टि भए नगरपालिकाले आधा रकम व्यहोर्ने भएकाले संक्रमितले आधा रकम मात्रै खर्च गर्नुपर्नेछ । नगरक्षेत्रभित्र भेटिएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र ज्यान गएमा शववाहन खर्चसमेत नगरपालिकाले नै व्यहोर्ने महालक्ष्मी नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाको कोरोना परीक्षण र उपचारमा सहयोग गर्ने निर्णयले स्थानीय खुुसी भएका छन् । ‘सरकारले सक्दिन भनेको कोरोनाका बिरामीको जाँच र उपचारका कुरा हाम्रो नगरपालकाले केही त गर्न सक्छु भनेर हिम्मत गरेको छ । यसले हामी नगरबासी खुुसी छौं ।’ स्थानीय समेत रहेका चानुुवा माविका प्रअ कुुमारबहादुर श्रेष्ठले भने, ‘हाम्रो नगरपालिकाले सकारात्मक र रचनात्मक काम गरिरहेकै छ । शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रमा नीतिगत रुपमै सुधारका संकेत देखिएका छन् ।’ स्थानीय सरकारले सबै नागरिकलाई अभिभावकत्व दिएको उनको भनाई छ । 

मुुलुकभर कोरोना जाँच र उपचारमा सहयोग नपाएको उल्टै अस्पतालहरुले धलौटी सहित बढी शुल्क लिईरहेको चर्को आवाज उठिरहेका बेला महालक्ष्मीका नागरिक भने कोरोना जाँच र उपचारमा सहयोग पाउने भएपछि ढुुक्क छन् ।

नगरपालिकाको यो निर्णय नमुुना योग्य भएको भन्दै सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ । नेपाल सरकारका उपसचिव एकदेव अधिकारीले समाजिक सञ्जाल फेसबुुकमा लेखेका छन्–‘हाम्रो पालिका र जनप्रतिनिधि प्रति गर्व छ । यो हो नि सरकारले भन्ने ! अहिले बाच्ने र बचाउने हो गच्छे अनुसार ।’ आफ्नो जन्मथलोका जनप्रतिनिधिको उदारताप्रति अधिकारीले प्रशंसा गरेका हुुन् । धेरैले महालक्ष्मी नगरपालिकाको यो कदम सकारात्मक भनेका छन् ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार ००:००  ६ : ०९ बजे