ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाले रामपुरमा अस्पताल बनाउने भएको छ । तत्काल ५ शैयाको कोभिड अस्पताल स्थापना गर्ने र त्यसलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल रामपुरमा सञ्चालन गर्ने गाउँपालिकाले तयारी थालेको हो ।
विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोनाको संक्रमणकै बेला नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सबै स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने सरकारको नीति छ । संघिय सरकारले तत्कालका लागि कोभिड अस्पताल सञ्चालन गर्न आवश्यक बजेट सहित स्थानीय तहहरुलाई निर्देशन दिईसकेको छ । सरकारको लक्ष्य अनुसार गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र मानिने रामपुरमा रहेको रामपुरको स्वास्थ्य चौकीलाई कोभिड अस्पतालका रुपमा विकास गरिने मोलुङ गाउँपालिकाका सूचना अधिकृत गोपाल नेपालले जानकारी दिए । ५ शैयाको कोभिड अस्पताललाई १५ शैयाको अस्पतालका रुपमा विकास गर्ने योजना अनुसार स्थानीयबाट जग्गा व्यवस्थापनको काम भईसकेको छ ।
रामपुरमा निर्माण हुने अस्पतालका लागि स्थानीयले करीब डेढ करोड भन्दा बढिको ९ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । साविकको बरुणेश्वर गाविस हालको मोलुङ गाउँपालिका वडा नं. २ रामपुरमा निर्माण हुने उक्त अस्पतालका लागि रामपुरका समाजसेवी ‘राईटर’ गङ्गा प्रसाद दाहालको स्मृतिमा उनका परिवारले ९ रोपनी जग्गा निशुल्क दान गरेका हुन् । जग्गादाताहरुले अस्पतालको नाममा विहिबार नै जग्गा रजिष्टेशन पास गरिदिएका छन् ।
‘राईटर’ गङ्गा प्रसाद दाहालको स्मृतिमा रमा दाहालले ५ रोपनी ५ आना ५ पैसा, चतुर्भुज दाहालले १ रोपनी १३ आना १ पैसा, उत्तम कुमार दाहालले १४ आना २ पैसा २ दाम र सन्तोष दाहालले १४ आना ३ पैसा २ दाम गरि जम्मा ९ रोपनी जग्गा अस्पतालको नाममा निशुल्क दान गरेका हुन् ।