२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवा विस्तारमा सुनकोशी, भुल्केमा स्वास्थ्य इकाई उद्घाटन



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले स्वास्थ्यका क्षेत्रमा सुनकोशी गाउँपालिकाले अब्बल काम गरेको दावी गरेका छन् । विहिबार सुनकोशी ६ को भुल्केमा सामुदायिक स्वास्थ्य ईकाई उद्घाटन गर्दै अध्यक्ष अधिकारीले नागरिकले पाउनुपर्ने  स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाईएको दावी गरेका हुन् ।

साविकका ५ वटा गाविसलाई संघियतापछि १० वटा वडामा विभाजन गरेर सुनकोशी गाउँपालिकाको संरचना बनाईएको थियो । एउटा गाविसलाई २ वटा वडाका दरले पुनःसंरचना गरिएका ५ वटा वडामा स्वास्थ्य संस्था थिएनन् । एउटै वडामा पनि ठुलो भुगोल भएका क्षेत्रमा स्वास्थ्य सेवा सहज थिएन । अहिले गाउँपालिकाले दुर्गम बस्तिमा समेत स्वास्थ्य सेवाको पहुँच पु¥याएको छ ।

विकट मानिने वडा नम्बर ९ को ककनी,वडा नम्बर ६ को भुल्के, मानिसको बढी जमघट हुने कोषहाट बजार सहित स्वास्थ्य संस्था नभएका सबै वडामा दक्ष प्राविधिक सहितको स्वास्थ्य संस्था सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताए । ‘यो भुल्केमा आज स्वास्थ्य संस्था स्थापना गरियो । ककनीमा पहिल्यै गुणस्तरीय सेवा सहितको संस्था स्थापना गरिसकेका छौं । स्वास्थ्य संस्था नभएका वडा र नागरिकको पहुँचमा नभए एउटै वडामा पनि २ ठाउँ सम्म स्वास्थ्यका इकाइहरु विस्तार गरेका छौं ।’ अधिकारीले भने, ‘स्वास्थ्यका क्षेत्रमा सुनकोशी गाउँपालिकाले अब्बल काम गरेको छ । स्वास्थ्य संस्थाको स्तरवृद्धि र सेवामा गुणस्तर सुधारका काममा हामी लागिरहेका छौं । यसमा सबैको योगदान आवश्यक छ ।’ औषधीको उपलब्धता, कर्मचारीको नियमितता लगायतमा सुधार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाईएको उनको दावी छ ।

गाउँपालिकाले गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिन थालेपछि भुल्केका स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार ००:००  ५ : २५ बजे